बागलुङ, १ कात्तिक
बागलुङमा जारी ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’का पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा गलकोट नगरपालिका र निसीखोला गाउँपालिका आमनेसामने हुने भएका छन् । आज भएको पहिलो सेमिफाइनल खेलमा ढोरपाटन नगरपालिकालाई ३–१ सेटमा पराजित गर्दै निसीखोला गाउँपालिका फाइनलमा पुगेको हो ।
दोस्रो सेमिफाइनल खेलमा काठेखोला गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै गलकोटले फाइनलमा स्थान बनाएको हो । ढोरपाटनसँग भएको खेलको पहिलो सेट २५–१३ मा आफ्नो हातमा पारेको निसीखोलाले दोस्रो सेट १४–२५ मा गुमाउन पुग्यो । तेस्रो र चौँथो सेटमा भने २७–२५ र २५–२० को जित निकाल्दै निसीखोला फाइनलमा पुगेको हो ।
दोस्रो सेमिफाइनल खेलमा २५–९, २५–१३ र २५–१७ को सोझो सेटमा काठेखोला गाउँपालिकालाई पराजित गर्दै गलकोट नगरपालिकाले फाइनलको यात्रा तय गरेको हो । प्रतियोगिताको तेस्रो स्थानका लागि ढोरपाटन नगरपालिका र काठेखोला गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो २ बजेपछि सुरु हुने प्रतियोगिताको व्यवस्थापक जिल्ला भलिबल सङ्घका उपाध्यक्ष किशोर थापाले जानकारी दिए ।
गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका दसवटै पालिकाका भलिबल टिमको सहभागिता छ । अन्तर्राष्ट्रिय बागलुङ समाजद्वारा आयोजित यस प्रतियोगिताको विजेता टिमले ट्रफी र मेडलसहित रु. दुई लाख, उपविजेताले रु. एक लाख, तेस्रो स्थान हासिल गर्ने टिमले रु. ५० हजार र सान्त्वना हुने टिमले रु. २५ हजार पुरस्कार पाउनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु. दस हजार, उत्कृष्ट टिम प्रशिक्षकलाई रु. पाँच हजार र अन्य विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई रु. पाँच हजार प्रदान गरिने समाजका सचिव एवं प्रतियोगिताका संयोजक राजु थापाले बताए । ‘म्यान अफ द म्याच’ हुने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको उनको भनाइ छ ।
हरेक टिमलाई रु. २५ हजारका दरले खेलाडी भत्ता उपलब्ध गराइएको छ । जिल्ला भलिबल संघको व्यवस्थापन, खेलकुद विकास समिति, बागलुङ नगरपालिका र बागलुङ नगरपालिका ४ नं. वडा कार्यालयको समन्वयमा प्रतियोगिता सञ्चालन भइरहेको हो । प्रतियोगितामा रु. १२ लाख खर्च हुने अनुमान गरिएको छ ।