बागलुङ, ३१ असोज
बगलुङमा जारी ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको क्वाटर फाइनल चरण पूरा भएको छ । आज भएको खेलमा बरेङ गाउँपालिकालाई पराजित गर्दै ढोरपाटन नगरपालिकाले सेमिफाइनल यात्रा तय गरेको हो ।
जैमिनी नगरपालिकासँगको खेलमा जित निकाल्दै निसीखोला सेमिफाइनल पुग्यो । ताराखोला गाउँपालिकालाई गलकोट नगरपालिकाले पराजित ग¥यो । यस्तै बागलुङ नगरपालिकाविरुद्ध जित हासिल गर्दै काठेखोला गाउँपालिका सेमिफाइनमा पुगेको हो ।
शनिबार हुने पहिलो सेमिफाइनल खेल ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाबीच हुनेछ । गलकोट नगरपालिका र काठेखोला गाउँपालिका दोस्रो सेमिफाइनलमा आमनसामने हुनेछन् । सेमिफाइनल खेल शनिबार बिहान ७ बजेदेखि सुरु हुने प्रतियोगिताको व्यवस्थापक जिल्ला भलिबल सङ्घका उपाध्यक्ष किशोर थापाले जानकारी दिए । उनका अनुसार फाइनल खेल दिउँसो २ बजेपछि सुरु हुनेछ ।
गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका दसवटै पालिकाका भलिबल टिमको सहभागिता छ । अन्तर्राष्ट्रिय बागलुङ समाजद्वारा आयोजित यस प्रतियोगिताको विजेता टिमले ट्रफी र मेडलसहित रु. दुई लाख, उपविजेताले रु. एक लाख, तेस्रो स्थान हासिल गर्ने टिमले रु. ५० हजार र सान्त्वना हुने टिमले रु. २५ हजार पुरस्कार पाउनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु. दस हजार, उत्कृष्ट टिम प्रशिक्षकलाई रु. पाँच हजार र अन्य विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई रु. पाँच हजार प्रदान गरिने समाजका सचिव एवं प्रतियोगिताका संयोजक राजु थापाले बताए । ‘म्यान अफ द म्याच’ हुने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको उनको भनाइ छ ।
हरेक टिमलाई रु. २५ हजारका दरले खेलाडी भत्ता उपलब्ध गराइएको छ । जिल्ला भलिबल संघको व्यवस्थापन, खेलकुद विकास समिति, बागलुङ नगरपालिका र बागलुङ नगरपालिका ४ नं. वडा कार्यालयको समन्वयमा प्रतियोगिता सञ्चालन भइरहेको हो । प्रतियोगितामा रु. १२ लाख खर्च हुने अनुमान गरिएको छ ।
