• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

‘मोडिफाइ’ गरी मोटरसाइकल चलाउनेविरुद्ध ‘अपरेसन ३६५’

पोखरा, ३१ असोज

कास्की प्रहरीले स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध ‘अपरेसन’ ३६५ सुरु गरेको छ । गत सोमबार उक्त अपरेसन सुरु भएयता हालसम्म यस्ता एक सय चारवटा मोटरसाइकल कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले संयुक्त रुपमा सुरु गरेको ‘अपरेसन ३६५’ चलाएका हुन् ।  अपरेसनका क्रममा समाजमा आतङ्क सिर्जना गर्ने र चेकजाँचका बेला प्रहरीसँग बादविवाद गर्ने २८ जनालाई मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

१६ जना मोटरसाइकल चालकलाई सम्झाइबुझाइ परिवारको जिम्मा लगाइएको छ ।  मोटरसाइकलमा होहल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्ने, समाजमा त्रास सिर्जना गर्ने र स्वरूप परिवर्तन गरिएका मोटरसाइकल र तिनका चालकलाई नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी राजकुमार केसीले बताए ।

मोटरसाइकलका पार्टपूर्जाहरु फेरी स्वरुप परिवर्तन गर्ने, साइलेन्सरबाट चर्को र पड्किने आवाज निकाल्ने, रातको समयमा ध्वनि प्रदूर्षण गर्ने, समाजको शान्तिसुव्यवस्था खल्बलाउने जस्ता गतिविधि भइरहेको जनगुनासो बढेपछि प्रहरीले यस्ता गतिविधिलाई नियन्त्रणमा लिन ‘अप्रेशन ३६५’ सञ्चालन गरेको हो । प्रहरीले यो अभियान निरन्तर सञ्चालन हुने जनाएको छ ।

प्रहरीले मोटरसाइकलमा होहल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्ने र स्वरूप परिवर्तन गरिएका मोटरसाइकल देखिएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्ने अनुरोध गरेको छ । सूचना दिने व्यक्तिको गोपनियता कायम राखिने जनाइएको छ । कास्की प्रहरीले गत वर्ष पनि अभियानकै रूपमा यस प्रकृतिका मोटरसाइकल नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याएको थियो ।

स्वीकृति नलिई सवारीसाधनको साइलेन्सर, सिट, रङ्ग, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इन्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनि प्रदूषण हुने खालका पार्टपुर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को बमोजिम १५ हजार रुपैयाँ सम्म जरिवाना हुने व्यवस्था छ ।

सहरी क्षेत्रमा मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल कुँदाउने प्रवृत्ति छ । यस्ता गतिविधिले सडक दुर्घटनाको जोखिम बढाउनुका साथै ध्वनि प्रदूषणले समाजमा असर पुर्याउने प्रहरीको भनाइ छ । प्रहरीले सवारी धनीलाई स्वरुप परिवर्तन नगरी मोटरसाइकल चलाउन आग्रह गरेको छ । यस्तै ग्यारेज, वर्कसपलगायतलाई पनि यस्ता कार्य गर्न/नगराउन सचेत गराएको छ ।