• २०८३ आश्विन २०, मङ्गलबार
  • 2026 October 06, Tuesday
  • Unicode Converter

नर्सका जायज माग पूरा गर्नुपर्छ–स्वास्थ्यमन्त्री पाठक

पोखरा, ३० असोज

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले पोखराका दुई ठूला निजी अस्पताल मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा आन्दोलनरत नर्सका जायज मागलाई अस्पताल व्यवस्थापनले पूरा गर्नुपर्ने बताएका छन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा उनले वार्ताका माध्मबाट समाधान खोज्न दुवै पक्षलाई आग्रह गरे ।

“आन्दोलनरत नर्सहरू र अस्पताल व्यवस्थापनबीच आवश्यक छलफल र समस्या समाधानका लागि समन्वय गर्न स्वास्थ्य मन्त्रालय तयार छ”, मन्त्री पाठकले भने, “तर, अहिलेसम्म आन्दोलन पक्षधर नर्सहरूबाट हामीलाई कुनै जानकारी आएको छैन, विभागीय मन्त्रालय भएकाले यो विषयमा हाम्रो ध्यानाकर्षण भएको छ ।”

अस्पताल व्यवस्थापनसँग पनि आफ्नो कुराकानी भइरहेकाले नर्सहरूका जायज माग पूरा गर्न मन्त्रालयले सक्दो भूमिका खेल्ने उनको भनाइ छ । काम नै रोकेर नर्सहरूले आन्दोलन गर्दा स्वास्थ्य सेवा प्रभावित हुने र सर्वसाधारण नागरिक मारमा पर्ने हुँदा समस्याको समाधानमा सबै जिम्मेवार हुनुपर्ने मन्त्री पाठकले बताए ।

सरकारले तोकेको मापदण्ड अनुसार तलबवृद्धिलगायतका माग राखी नर्सहरू आन्दोलनमा उत्रेका छन् । सुरूमा मणिपाल शिक्षण अस्पालमा आन्दोलन सुरू भएकामा सोमबारदेखि गण्डकी मेडिकल कलेजका नर्सहरू पनि आन्दोलनमा उत्रेका हुन् । नर्सहरू आन्दोलित बनेपछि दुवै अस्पतालको सेवा प्रभावित भएको छ।