• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

भाइटीकाको उत्तम साइत कुन देश र सहरमा कति बजे ? सूची हेर्नुहोस्

बागलुङ, २९ असोज

अन्तर्राष्ट्रिय पञ्जाङ्ग निर्णय समितिले विश्वका विभिन्न देश र सहरमा भाइटीकाको उत्तम साइतबारे जानकारी गराएको छ । आज एक सूचनामार्फत समितिले अमेरिका, भारत, क्यानडा, जापान, अष्ट्रेलियालगायत देशको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको हो ।

यसअघि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपालमा भाइटीकाको उत्तम साइत आगामी कातिक ६ गते बिहान ११ः३९ बजे रहेको जनाइएको थियो ।

यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ ।

कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । यसै दिन साँझ दीपमालिका गरिन्छ । कात्तिक ४ गते दिउँसो ०४ः२९ बजेसम्म औँशी तिथि रहेको समितिले जनाएको छ । गाई, गोरु र आत्म (मह) पूजा भने कात्तिक ५ गते बुधबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।

कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्म (मह) पूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । आत्म (मह) पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ । तिहारको अन्तिम दिन कात्तिक छ गते भाइटीका रहेको छ ।