• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

गतवर्ष ‘हटस्पट’ बनेको पोखरामा यसपालि डेङ्गी सङ्क्रमण न्यून

पोखरा, २९ असोज

गतवर्ष पोखरा महानगरपालिकामा आठ हजार छ सय बढीमा डेङ्गी संक्रमण भएका थियो । प्रदेशको स्वास्थ्य मन्त्रालयले पोखरालाई डेङ्गी सङ्क्रमणको ‘हटस्पट’ उल्लेख गरेको थियो । डेङ्गीबाट पोखरामा तीन जनाको मृत्युसमेत गएको थियो ।

यस वर्ष भने पोखरा महानगरपालिकामा डेङ्गी सङ्क्रमण दर न्यून देखिएको छ । हालसम्म जम्मा पाँच सय ५४ जनामा डेङ्गी रोग देखिएको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष डेङ्गी सङ्क्रमणको दरमा उल्लेख्य रुपमा कमी आएको महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले बताए । डेङ्गी सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको पूर्वतयारी र समुदायको सजगताका कारण डेङ्गी फैलन नपाएको उनको भनाइ छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय, कास्कीका प्रमुख रामबहादुर नेपालीले गत वर्षको तुलनामा यस वर्ष जिल्लामा डेङ्गी सङ्क्रमणको दर झण्डै ७५ प्रतिशतले कम भएको बताए । “गत वर्ष डेङ्गी सङ्क्रमण व्यापक रुपमा देखिएपछि यस वर्ष मानिसहरु पनि आफै सजग भएको देखियो, सम्बन्धित निकायहरुले पनि समयमै नियन्त्रण तथा रोकथामका उपायहरु अबलम्वन गरे”, उनले भने, “पोखराका अस्पतालहरुको अनुगमन गर्दा पनि डेङ्गीका बिरामी धेरै कम भर्ना भएको पाइयो, अहिले डेङ्गीको खासै समस्या छैन ।”

डेङ्गी सार्ने लामखुट्टेको मुख्य बासस्थान मानिने पुराना टायरलाई सरसफाइ तथा व्यवस्थापनमा अटो मोबाइल एशोसिएसनले अगुवाई गरेको उनले बताए । डेङ्गी सार्ने लामखुट्टेका लागि मौसम पनि प्रतिकुल परेकाले समुदायमा रोग फैलन नपाएको प्रमुख नेपालीले बताए । जाडो याम सुरु हुन लागेकाले अब डेङ्गीको जोखिम पनि घट्दै जाने उनको भनाइ छ । साउनदेखि कात्तिकसम्मलाई डेङ्गी सङ्क्रमणको बढी जोखिमयुक्त समय मानिन्छ ।

डेङ्गी सङ्क्रमण रोक्न पोखरा महानगरपालिकाले सुरु देखि नै समुदायस्तरमा सचेतना र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । कक्षा ७ देखि १० कक्षासम्मका विद्यार्थी, महिला स्वास्थ्यस्वयंलगायतलाई पनि डेङ्गी सङ्क्रमण रोकथामका विषयमा सचेतना प्रदान गरिएको महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए ।

डेङ्गी परीक्षणका लागि ‘किट’ व्यवस्थापन र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका काममा पनि महानगरको स्वास्थ्य महाशाखा लागिपरेको उनको भनाइ छ । हरेक व्यक्ति, परिवार र समुदाय सचेत नभएसम्म डेङ्गी रोकथाम र नियन्त्रण गर्न कठिन हुने जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए ।

डेङ्गी फैलाउने लामखुट्टको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्ने खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने उनले बताए । “समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेङ्गीले महामारीको रुप लिन सक्छ”, जनस्वास्थ्य निरीक्षक रेग्मीले भने, “जनघनत्व बढी भएका ठाउँमा डेङ्गी छिटो फैलने हुँदा सहरी क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्छ ।”

डेङ्गी रोग सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको बासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको छ । सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ । लामखुट्टको सोही जीवनचक्र खल्बल्याउन बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने गरिएको हो । लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गी नियन्त्रणको उत्तम उपाय भएको चिकित्सक बताउँछन् ।