बागलुङ, २९ असोज
दसैँअघि सांगीतिक प्रस्तुतिका लागि बेलायत पुगेका गायक तथा स्टेज पर्फमर दुर्गेश थापा तिहारको छेकोमा अमेरिका उडेका छन् । डेढ महिने सांगीतिक यात्राका क्रममा उनी मंगलबार अमेरिका प्रस्थान गरेका हुन् ।
अमेरिकाका विभिन्न ११ सहरमा सांगीतिक प्रस्तुति दिने थापाले बताए । यो उनको पहिलो अमेरिका यात्रा हो । “म निकै उत्साहित छु, तिहारको माहोलमा अमेरिकामा रहनुभएका नेपालीहरूसँग भेट हुनेछ”, दुर्गेशले भने ।
पहिलो कार्यक्रम शुक्रबार (१७ अक्टोबर) अस्टिन टेक्सासबाट सुरु भएर नोभम्बर २२ मा डल्लास टेक्सासमा पुगेर उनको अमेरिकाको सांगीतिक यात्रा सकिनेछ । न्यूयोर्क, बाल्टीमोर, कोलम्बस, भर्जिनिया, कोलोराडोलगायत सहरमा दुर्गेशले प्रस्तुति दिनेछन् ।
दुर्गेश सहभागी हुने सांगीतिक कार्यक्रम आरएनआर ग्रुप्स एलएलसी, पाण्डे होम्स एलएलसी र एकेबी कम्पनी एलएलसीद्वारा आयोजना गरिएको हो । पिस एण्ड ब्युटी नामक गैर नाफामुखी संस्थाले कार्यक्रममा साझेदारी गरेको छ ।
पछिल्लो समय दुर्गेशको ’दुश्मन हेरेको हेर्यै, ’जाने भए जाममाया’ लगायत गीत चर्चित छन् । गत वर्ष सार्वजनिक ‘दुश्मन हेरेको हेरेको हेर्यै’ गीत अत्यधिक सफल भएपछि उनको व्यस्तता बढेको हो । देशविदेशका कार्यक्रममा उनलाई भ्याइनभ्याइ छ । “अमेरिकापछि क्यानाडा र युरोपको सांगीतिक यात्रा तय हुँदैछ, यो वर्ष अधिकांश विदेशकै कार्यक्रममा म व्यस्त हुनेछु ।”