• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

बागलुङमा डेङ्गी सङ्क्रमित बढे, ‘खोज र नष्ट गर’ अभियान चलाइने

बागलुङ, २६ असोज

जिल्लामा डेङ्गी सङ्क्रमितको संख्या दुई सय ५७ पुगेको छ । सबैभन्दा बढी बागलुङ नगरपालिकामा एक सय ३६ जनामा डेङ्गी रोग देखिएको हो । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार गलकोट नगरपालिकामा ४३, काठेखोला गाउँपालिकामा २३, ढोरपाटन नगरपालिकामा १५, जैमिनी नगरपालिकामा सात, बडीगाड गाउँपालिकामा छ, ताराखोला गाउँपालिकामा चार र निसीखोला गाउँपालिकामा दुई जनालाई डेङ्गी सङ्क्रमण भएको हो ।

तमानखोला र बरेङ गाउँपालिकामा अहिलेसम्म सङ्क्रमित नभेटिएको कार्यालयका निमित्त प्रमुख घनश्याम सापकोटाले जानकारी दिए । पछिल्लो समय जिल्लामा डेङ्गी रोगको प्रकोप बढ्दो क्रममा रहेको उनले बताए । डेङ्गी न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि आइतबार सरोकार भएका पक्षहरुबीच बैठक बसी योजना बनाइएको निमित्त कार्यालय प्रमुख सापकोटाले बताए ।

सोमबारदेखि बागलुङ नगरपालिकाको वडा नं. १, २, ३ र ४ मा डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिने उनले जानकारी दिए । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, आमा समूह, जनप्रतिनिधिलगायतको सहभागीतामा जोखिमयुक्त ठाउँमा पुगी डेङ्गी सार्ने लामखुट्टेको बासस्थान खोजी नष्ट गरिने भएको हो ।

डेङ्गी फैलाउने लामखुट्टको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गी सर्ने उनको भनाइ छ ।

दलामखुट्टेको टोकाइबाट बच्न सचेतना जगाउने र अभिमुखीकरण गर्ने काम भइरहेको स्वास्थ्य शाखा प्रमुख खनालले बताए । हरेक व्यक्ति, परिवार र समुदाय सचेत नभएसम्म डेङ्गी रोकथाम र नियन्त्रण गर्न कठिन हुने उनको भनाइ छ । डेङ्गी रोग सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको बासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको छ ।

सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ । लामखुट्टको सोही जीवनचक्र खल्बल्याउन बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने गरिएको हो । लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गी नियन्त्रणको उत्तम उपाय मानिन्छ । डेङ्गी रोग नियन्त्रण तथा रोकथामका लागि जिल्लाका सबै वडाहरुमा विद्यालय स्वास्थ्य शिक्षा र समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ ।

डेङ्गी रोग परीक्षणका लागि किटको अभाव हुन नदिइने प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका दसवटै स्थानीय तहका स्वास्थ्य शाखामा परीक्षण किट उपलब्ध रहेको निमित्त कार्यालय प्रमुख सापकोटाले बताए ।

डेङ्गी रोग नियन्त्रण तथा रोकथामकाका लागि धवलागिरि अस्पताल, सम्बोधन परियोजना, धवलागिरि आयुर्वेद असपताललगायत स्वास्थ्य संस्था तथा निकायहरुसँग आपसी पहल र समन्वय गरिएको उनको भनाइ छ । सरोकार भएका पक्षहरुबीचको बैठकमा प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङले डेङ्गी रोगको नियन्त्रण तथा रोकथामका लागि समुदायस्थलमा सचेतना अभिवृद्धि गनुपर्ने बताए । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुन सक्ने भएकाले डेङ्गीलाई सामान्य रुपमा लिन नहुने चिकित्सक बताउँछन् ।

डेङ्गीको लक्षण देखिएमा तुरुन्त परीक्षण गरी र आवश्यकता अनुसार उपचार सुरु गर्नुपर्ने धवलागिरि प्रादेशिक अस्पतालका चिकित्सक अमित ढुङ्गानाले बताए । डेङ्गीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने उनको भनाइ छ । सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिएमा चिकित्सकको विशेष निगरानीमा उपचार उनले बताए ।

डेङ्गी भएमा आराम गर्ने, झोलिलो पदार्थ प्रशस्त पिउने र जथाभावी औषधि सेवन गर्न नहुने चिकित्सक ढुङ्गानाले बताए । गर्भवती र बालबालिकामा डेङ्गी भएमा स्वास्थ्यमा जटिलता निम्तन सक्ने खतरा हुने हुँदा उच्च सावधानी अपाउनुपर्ने उहाँको सुझाव छ । अधिकांश डेङ्गीका बिरामी सामान्य उपचारपछि निको हुने गरेका छन् ।