• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

‘जेनजी’ आन्दोलनका घाइतेलाई भैपरी खर्च दिइने

पोखरा, २६ असोज

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका कास्कीका ९२ जनाले घाइते परिचयपत्रसहित भैरपरी खर्च पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार गृह मन्त्रालयबाट प्राप्त घाइतेहरुको सूची बमोजिम कास्कीमा स्थायी ठेगाना भएका घाइतेहरुलाई आइतबारदेखि परिचयपत्र वितरण गरिने भएको हो ।

परिचयपत्र वितरणपछि सोही आधारमा घाइतेलाई तत्कालका लागि भैपरी खर्च बापत रु. २० हजार दरले रकम उपलब्ध गराइने कार्यालयका प्रशासकीय अधिकृत झविश्वर रेग्मीले जानकारी दिए ।

भैपरी खर्चका लागि ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भई अस्पतालमा उपचार गराएको बिरामी टिकट र डिस्चार्ज सम्बन्धी कागजात, नागरिकताको प्रमाणपत्र, तस्बिर र घाइतेको नाममा रहेको बैङ्क खाताको चेकको प्रतिलिपिसहित कार्यालयमा उपस्थित हुन भनिएको छ ।

घाइते स्वयं आउन नसके परिवारका सदस्यलाई सम्पर्क राख्न सूचित गरिएको प्रशासकीय अधिकृत रेग्मीले बताए ।