बागलुङ, २५ असोज
यस वर्षको मनसुन बाहिरिएको छ । मौसम खुलेको छ । दिन घमाइला छन् । चाडबाडको याम छ । न बढी गर्मी छ, न जाडो नै । यहीबेला मुख्य पर्यटकीय याम चलिरहेको छ । गन्तव्यस्थलहरुमा पर्यटकको चहलपहल बढ्दो छ । कोही सडकमार्ग त कोही पदमार्ग भएर घुमफिरमा निस्किरहेका छन् ।
के तपाईँ पनि घुम्ने योजना बनाउँदै हुनुहुन्छ ? त्यसो हो भने म्याग्दीको घोरेपानी–पुनहिल क्षेत्र तपाईँको यात्राको सही छनोट हुनसक्छ । प्रकृतिको भव्यतामा रमाउने जो कोहीका लागि यो एक आकर्षक थलो हो । देशीविदेशी पर्यटकमाझ लोकप्रिय गन्तव्य हो घोरेपानी–पुनहिल क्षेत्र । बर्सेनि शरद् र वसन्त याममा यस क्षेत्रमा उल्लेख्य पर्यटक पुग्छन् । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने पुनहिल प्रकृतिको अनुपम उपहार हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिलको शान्त र हरियाली वातावरणले आगन्तुकको मन लोभ्याउने गर्छ । समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटरको उचाइमा अवस्थित पुनहिल सूर्योदयसँगै हिमशृङ्खला अवलोकनका लागि उत्कृष्ट गन्तव्य हो । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोरेपानी–पुनहिल क्षेत्रमा सडक र पदमार्गबाट सहजै पुग्न सकिन्छ । अहिले मुख्य पर्यटकीय याम चलिरहेकाले यस क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ ।
दैनिक दुई सयभन्दा बढी विदेशी पर्यटक पुनहिल पुग्ने गरेका छन् । आन्तरिक पर्यटकको आउजाउ विस्तारै बढ्दै छ । ‘जेन्जी’ आन्दोलन, प्रतिकुल मौसम आदि कारणले गत वर्षको तुलनामा पर्यटक आगमन प्रभावित भएपनि केही दिनयता पर्यटकको संख्या बढ्न थालेको पर्यटन व्यवसायी बताउँछन् । पुनहिल प्रवेश टिकट कक्षका अमृत पुनले केही दिनयता पर्यटक संख्या बढेको बताए ।
“दैनिक दुई सयको हाराहारीमा विदेशी पर्यटक आएका छन्, आन्तरिक पर्यटकको संख्या पनि विस्तारै बढ्दै छ”, उनले भने, “तिहार अघिपछिको समयमा पर्यटक बढ्ने अनुमान छ ।” यस वर्ष दसैँ छिटो परेको र मौसम पनि प्रतिकुल भएका कारण दसैँ बिदामा कम पर्यटक आएको उनले बताए । यो याममा दैनिक चार सयसम्म विदेशी पर्यटक पुनहिलत आउने गरेकामा ‘जेनजी’ आन्दोलन, वर्षात्का कारण भएको सडक अवरोध, खराब मौसम आदि कारणले पर्यटक आगमनमा गिरावट आएको जनाइएको छ ।

घारेपानीका अगुवा पर्यटन व्यवसायी डमबहादुर पुनले मुख्य गरी सूर्योदय, सूर्यास्त र हिमशृङ्खला अवलोकनका लागि पर्यटक पुनहिल आउने गरेको बताए । अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका उनले पुनहिलबाट एकैसाथ लमजुङदेखि गुर्जा हिमालसम्मको ‘पानोरमा भ्यू’ देख्न सकिने बताए । घोरेपानी–पुनहिलको प्रकृतिमय भूगोलले पनि पर्यटकलाई लोभ्याउने गरेको उनको भनाइ छ ।
हरेक ऋतुकालमा भिन्न विशेषतामा खुल्ने गरेको छ, घोरेपानी र पुनहिल । कहिले हिउँले सेताम्मे बन्छ त कहिले लालीगुराँस फूलेर राताम्मे बन्छ । पहिलोपल्ट यहाँ पाइला राख्दा जो कोहीको मन फुरुङ्ग हुन्छ । सहरको कोलाहल र पट्यारलाग्दो दैनिकी छलेर पुनहिल पुग्नेले तनाव भुल्छन् । प्रकृतिमा नजर अडाउँछन् र मन शान्त पार्छन् । आँखैअघि दन्तलहरझैँ खुलेका हिउँचुचुरोमा सूर्योदयको लाली पोखिँदाको दृश्य चित्ताकर्षक लाग्छ ।
छोटो तर रोमाञ्चक यात्राका लागि पर्यटकले यस क्षेत्रलाई रोज्ने गरेको पर्यटक पथप्रदर्शक दिवस गुरुङले बताए । उनका अनुसार तीनदेखि चार दिनसम्ममा घोरेपानी र पुनहिलको पदयात्रा गर्न सकिन्छ । सडकमार्ग पनि प्रयोग गरेमा दुरी अझै घट्ने गुरुङले बताए । “अहिले सडकले गर्दा कतिपय ठाउँमा पदमार्ग छोटिएको छ, छोटो अवधिको पदयात्राका पुनहिल उत्कृष्ट गन्तव्य मानिन्छ”, उनले भने ।
कास्कीको नयाँपुलबाट उल्लेरी हुँदै पुनहिल आउने पदमार्ग बढी प्रचलित छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पोखरेबगरबाट पनि त्यहाँ पुग्न सकिन्छ । अधिकांश पर्यटक पुनहिलबाट टाडापानी, घान्द्रुक, नयाँपुल हुँदै पोखरा फर्कने गर्छन । कतिपय म्याग्दीको पोखरेबगर हुँदै भुरुङ तातोपानी पुग्छन् । त्यो मार्गबाट मुस्ताङतर्फको यात्रा पनि तय गर्न सकिन्छ ।
पर्यटक पथप्रदर्शक गुरुङका अनुसार पुनहिलबाट मोहरे, कोखेडाँडा हुँदै उल्लेरी निस्केर नयाँपुल फर्कने र पर्वततर्फ जाने अर्को पदमार्ग छ । पुनहिलबाट स्वातँ हुँदै म्याग्दीको अर्को पर्यटकीयस्थल खोप्रा लेक जाने अर्को पदमार्ग पनि सञ्चालनमा छ । कुनैबेलाको ‘लुङटुङ’ डाँडा अहिले पुनहिलका रुपमा विश्व पर्यटन बजारमा स्थापित छ । चार दशकअघिसम्म उक्त क्षेत्र खिवाङ गाउँका किसानको चरन क्षेत्र थियो ।
भारतीय सेनाबाट सेवा निवृत्त स्व. मेजर टेकबहादुर पुनले पुनहिलको नामाकरण गरेका थिए । त्यस क्षेत्रको पर्यटन विकासको जग हालेको श्रेय पनि पुनलाई दिइन्छ । उनैको स्मृतिमा पुनहिलमा भ्यूटावर बनाइएको छ । मेजर टेकबहादुरले लुङटुङ डाँडालाई पुनहिलको नामले चिनाएकै कारण यसको पहिचान देशविदेशमा फैलिएको र पर्यटकीय गतिविधि सुरु भएको घोरेपानीका पर्यटन व्यवसायी बताउँछन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा समेटिएपछि यस क्षेत्रको बारेमा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार भएको थियो । घोडेपानी–पुनहिल क्षेत्रको भ्रमणका लागि असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना उपयुक्त समय हो । यस क्षेत्रमा वार्षिक ३० हजारको हाराहारीमा विदेशी पर्यटक भित्रिने गरेका गरेका छन् । पुनहिल भ्रमण गर्ने पर्यटकबाट प्रवेश शुल्क उठाउन र चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आवमारु. ५४ लाखमा ठेक्का सम्झौता गरेको छ ।
विदेशीले प्रतिव्यक्ति रु. एक सय ५० र नेपालीले रु. ५० का दरले प्रवेश शुल्क तिर्नुपर्छ । घोरेपानीबाट करिब ४० मिनेट उकालो पैदलयात्रा गरेर पुनहिल पुग्न सकिन्छ । घारेपानीमा हाल दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्ने क्षमताका २३ वटा सुविधासम्पन्न होटलहरु छन् । समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा पहाडको टाकुरामा अवस्थित घोरेपानीका अधिकांश होटलका कोठाबाटै हिमाल देख्न पाउनु अर्को विशेषता हो ।
पर्यटकीय नगरी पोखरादेखि नयाँपुल हुँदै एकै दिनमा घोरेपानी पुग्न सकिन्छ । कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाडाँ भएर पनि घोरेपानी पुग्न सकिन्छ । कास्कीको वीरेठाँटी–उल्लेरी–घोरेपानी, नयाँपुल–घान्द्रुक–घोडेपानी, म्याग्दीको नागी–महरे–फुलवारी–घोरेपानी र तातोपानी–घार–शिख हुँदै घोरेपानी पुग्न सकिने गरी पदमार्गहरु सञ्चालनमा छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै घार, शिख हुँदै सडकको प्रयोग गरेर पनि घारेपानी पुग्न सकिन्छ । कास्कीको नयाँपुलदेखि उल्लेरीसम्म पनि अहिले सडकमार्ग पुगिसेको छ । नयाँपुलदेखि वीरेठाँटी, उल्लेरी हुँदै घारेपानीसम्मै पदयात्रा पनि गर्न सकिन्छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, गाउँले जनजीवन, सम्भयता, संस्कृति आदि कारणले यस क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
