बागलुङ, २३ असोज
देशीविदेशी पर्यटकमाझ लोकप्रिय गन्तव्य हो घोरेपानी–पुनहिल क्षेत्र । बर्सेनि शरद् र वसन्त याममा यस क्षेत्रमा उल्लेख्य पर्यटक पुग्छन् । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने पुनहिल प्रकृतिको अनुपम उपहार हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिलको शान्त र हरियाली वातावरणले आगन्तुकको मन लोभ्याउने गर्छ ।
समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटरको उचाइमा अवस्थित पुनहिल सूर्योदयसँगै हिमशृङ्खला अवलोकनका लागि उत्कृष्ट गन्तव्य हो । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोरेपानी–पुनहिल क्षेत्रमा सडक र पदमार्गबाट सहजै पुग्न सकिन्छ । अहिले मुख्य पर्यटकीय याम चलिरहेकाले यस क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । दैनिक दुई सयभन्दा बढी विदेशी पर्यटकले पुनहिल पुग्ने गरेका छन् ।
आन्तरिक पर्यटकको आउजाउ विस्तारै बढ्दै छ । ‘जेन्जी’ आन्दोलन, प्रतिकुल मौसम आदि कारणले गत वर्षको तुलनामा पर्यटक आगमन प्रभावित भएपनि केही दिनयता पर्यटकको संख्या बढ्न थालेको पर्यटन व्यवसायी बताउँछन् ।




