बागलुङ, २२ असोज
मानवसेवा आश्रम बागलुङले अक्षयकोष स्थापना गर्नका लागि महायज्ञ गर्ने भएको छ। आगामी कात्तिक २१ देखि २८ गतेसम्म महायज्ञ सञ्चालन गरिने आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । आश्रमको दिगो व्यवस्थापनका लागि १० करोड रुपैयाँको कोष निर्माण गर्ने योजना रहेको छ।
मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले कसैलाई करकाप नगरि स्वतःस्फूर्त रूपमा सहयोग संकलन गर्ने लक्ष्य राखिएको बताए। महायज्ञ अवधिभर एक हजार जनालाई बिहान योग शिविरमा सहभागी गराउने, विद्यार्थीहरूका लागि सकारात्मक सोच र मानवता प्रवर्द्धनसम्बन्धी उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य शिविर सञ्चालन गर्ने तथा स्थानीय र राष्ट्रिय कलाकारद्वारा भजन–कीर्तन, कला र नाटक मञ्चन गर्ने योजना रहेको छ।
पहिलो दिन (कात्तिक २१ गते) बाजागाजा, सांस्कृतिक कार्यक्रम, झाँकी, शंखनाद र भजनसहित शोभा कलशयात्रा गरिनेछ। हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म भागवतभास्कर कमलनयन गौतमले कथा प्रवचन गर्नेछन्। साथै हरेक दिन गीत–संगीत, झाँकी, देवलिला, नृत्य, पञ्चायन पूजा, लक्ष्यवर्तिका, पितृ उद्धार, धान्याञ्चल, तुलादान, ग्रहशान्ति, ८४ पूजा, महामृत्युञ्जय जप, तथा पाठ पारायणजस्ता कार्यक्रम सञ्चालन हुने जनाइएको छ।
पर्वत, म्याग्दी र मुस्ताङ सहित बागलुङका सदस्यहरू मिलाएर १,००८ जनाको मुल समारोह समिति गठन गरिएको छ। समाजसेवी सहदेव राजभण्डारीको संयोजकत्वमा प्रारम्भिक समिति गठन भई पत्रकार सम्मेलनसमेत सम्पन्न गरिएको हो। कुँडुलेस्थित मुक्तिनाथ वेदविद्याश्रम, रंगवेंकटेश्वर मुक्तिनारायण मन्दिर र सत्तल निर्माणमा सहयोग गरिसकेका राजभण्डारीकै नेतृत्वमा यो महायज्ञ सञ्चालन हुन लागेको हो।
कथावाचक पण्डित भास्कर कमलनयन गौतमले महायज्ञमा मुल कथा वाचन गर्नेछन्। उनले यो महायज्ञलाई पैसा संकलनमा मात्र सीमित नराखी मानवसेवा र मानवताको उदारका लागि आम नागरिकलाई उत्प्रेरित गर्ने लक्ष्य रहेको बताए।
समितिका अध्यक्ष सहदेव राजभण्डारीको अध्यक्षता, सहसंयोजक तथा बानपाका उपप्रमुख राजु खड्काको स्वागत र महासचिव युक्तसाद सुवेदीको सञ्चालनमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो। मानवसेवा आश्रमको भवन आगामी चैत मसान्तभित्र निर्माण सम्पन्न गरी करिब २०० जना आश्रितलाई सेवा प्रवाह गर्ने लक्ष्य राखिएको छ। साथै, आश्रमको अक्षयकोष १० करोड रुपैयाँ पुर्याउने, गण्डकी प्रदेशलाई सडकमानव–रहित प्रदेश बनाउने तथा नेपाललाई सहयोगीपेक्षी सडक–आश्रित मानवमुक्त राष्ट्र बनाउने संकल्प पनि गरिएको छ।