• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday
  • Unicode Converter

फेरिएन सहिदमार्गको अवस्था

बागलुङ, २० असोज

बागलुङको काठेखोला गाउँपालिका–५ रिजालचोकदेखि अमरभूमि हुँदै ताराखोला गाउँपालिकाको केन्द्र अर्गल जोड्ने सहिदमार्ग वर्षौँदेखि स्तरोन्नतिको पखाईमा छ । स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्य अनुसार सहिदमार्ग पाँच वर्षअघि नै कालोपत्रका छनोटमा परेपनि उक्त योजना अझै कार्यान्वयनमा आउन सकेको छैन ।

जीर्ण र साँघुरो सडकका कारण त्यस क्षेत्रका सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । सहिदका नाममा बनेको सडक वर्षौँसम्म विस्तार तथा कालोपत्र नहुँदा जनगुनासो बढ्दै गएको छ । स्थानीय पूर्वाधार आयोजना विकास कार्यालयको आयोजना छनोट समितिले सडक कालोपत्रका लागि गरेको सिफारिस र निर्णय कागजमा मात्र सीमित भएको गाउँपालिका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले बताए ।

“सहिदमार्ग स्तरोन्नति र कालोपत्रका लागि गाउँपालिकाले पहल नगरेको होइन, तर हाम्रो मात्र प्रयासले सम्भव देखिएन”, उनले भने, “जनस्तरबाट व्यापक दबाब सिर्जना नगरेसम्म सरकारले हाम्रो आवाज सुन्ने अवस्था छैन ।” सरकारको प्राथमिकतामा नपरेका कारण कालोपत्र योजना अलपत्र परेको उनको गुनासो छ । पूर्वाधार आयोजना विकास कार्यालय पोखरा मातहतको आयोजना छनोट समितिले उक्त सडक कालोपत्रका लागि छनोट गरी केन्द्रमा सिफारिस गरेको थियो ।

२० किमि दुरीको उक्त सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर छिट्टै सडक कालोपत्र गरिने खबरले उत्साहित स्थानीयवासी योजना नै अलपत्र पर्दा निराश बनेका छन् । जनयुद्धका बेला तत्कालीन माओवादी कार्यकर्ता र जनसमुदाय मिलेर उक्त सडकको मार्ग खोलेका थिए । पछि गाउँपालिकाले त्यसलाई ‘सहीद मार्ग’को नाम दिएको थियो ।

मार्ग खुलेको वर्षौँ बित्सासमेत सडक विस्तार र कालोपत्र हुन नसकेको हो । वर्षात्मा गएका पहिरा व्यवस्थापन नहुँदा हिउँदमा पनि उक्त सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।हिउँदमा जेनतेन चल्ने उक्त सडक वर्षात्का बेला बन्द हुने गरेको छ । ताराखोला गाउँपालिकाको केन्द्र अर्गलको भातखाने डाँडा जोड्ने उक्त सडक राज्यको नजरमा पर्न नसकेको स्थानीयवासीको गुनासो छ ।

सहिदमार्गमा पर्ने थवारको घुम्ती, मनझाँक्रीको किल्ला, थारखेतसहित कैयन ठाउँको सडक जोखिमपूर्ण रहेको गाउँपालिका अध्यक्ष विकले बताए । सामान्य मर्मतसुधार पनि हुन नसक्दा सडकको यात्रा जोखिमपूर्ण बनेको हो । कालोपत्र नगरेसम्म सहिदमार्गको समस्या ज्यूँकात्यूँ रहने देखिन्छ । नालीसहितको पक्की सडक बनाउनुपर्ने स्थानीयवासीको माग छ ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गसँग जोडिने उक्त सडक कालोपत्रका लागि झण्डै रु। ७० करोडको लागत अनुमान गरिएको छ । योजना कार्यान्वयनमा आए सङ्घ सरकारको ७०, प्रदेशको १० र गाउँपालिकाको २० प्रतिशत लागत साझेदारी रहने जनाइएको थियो ।

सडक कालोपत्र भएमा भने लोकमार्ग हुँदै प्रदेश राजधानी पोखराको यात्रा सहज र छरितो हुनेछ । सडक स्तरोन्नति नहुँदा अहिले ताराखोलादेखि सदरमुकाम आउन घण्टौँ यात्रा गर्नुपर्छ । पक्की सडकसँग जोडिएमा यात्रुको आउजाउ सहज हुनुका साथै ताराखोलाको स्थानीय उत्पादनलाई बजारीकरण गर्न सघाउन पुग्ने देखिन्छ ।