• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

भारी वर्षाको पूवार्नुमानसँगै सतर्कता अपनाउन कास्की प्रशासनको आग्रह

पोखरा, १७ असोज

जल तथा मौसम विज्ञान विभागले शुक्रबार (आज) देखि सोमबारसम्म गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षाको पूर्वानुमान गरेसँगै जिल्ला प्रशासन कार्यालय, कास्कीले उच्च सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । बिहीबार सार्वजनिक सूचनामार्फत कार्यालयले अति जरुरी नपरी टाढाको दुरीमा र रातको समयमा यात्रा नगर्न भनेको हो ।

बाढीपहिराको उच्च जोखम भएका क्षेत्र र नदी÷खोला किनारमा बाढीको बहाव उच्च हुन लागेमा सो स्थानमा नबसी सुरक्षित स्थापनमा बस्न आग्रह गरिएको छ । वर्षात्को समयमा राजमार्ग तथा ग्रामिण सडकमा सवारीसाधनलाई संयमतापूर्वक सञ्चालन गर्न र क्षमताभन्दा बढी यात्रु नचढाउन यातायात व्यवसायी र सवारी चालकलाई अनुरोध गरिएको छ ।

बिरेठाँटीदेखि घान्द्रुक, बिरेठाँटीदेखि उल्लेरी, लुम्लेदेखि लान्द्रुक र काहुँखोलादेखि ताङतिङ÷सिक्लेस जाने सवारीसाधन शुक्रबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि दिउँसो ४ बजेभित्रैमा छुट्ने भएका छन् । सोही मार्गबाट फर्कने सवारीसाधनलाई शनिबार बिहान ५ बजेपछि गन्तव्यस्थलका लागि छुट्ने व्यवस्था मिलाइएको छ ।

कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपातकोसमेत समम्भावना रहेकाले अन्नपूर्ण हिमाल, मर्दी हिमाललगायतका क्षेत्रको पदयात्रामा नजानमा पदयात्राी पर्यटकलाई आग्रह गरेको छ । कुनै विपद्जन्य घटना भएमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाइ, सुरक्षा निकाय र स्थानीय प्रशासनमा तुरुन्त सम्पर्क गर्न अनुरोध गरिएको छ ।

स्थानीय तह, रेडक्रससहित साझेदार संस्था, निजी क्षेत्र, नागरिक समाजलगायत सरोकार भएका पक्षलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ ।