• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

मर्यादित र सभ्यपूर्वक चाडपर्व मनाउन आग्रह

पोखरा, १४ असोज

‘जेनजी’ आन्दोलनका कारण सिर्जित मुलुकको पछिल्लो परिस्थितिबीच शान्ति र सुव्यवस्था कायम राख्दै अनुशासित, मर्यादित र सभ्य तबरले चाडपर्वत मनाउन जिल्ला प्रशासन कार्यालय, कास्कीले सर्वसाधारणमा अनुरोध गरेको छ ।

सार्वजनिक सूचनामार्फत कार्यालयले चाडपर्वका समयमा चोरी, डकैती र लुटपाटका घटना हुन सक्ने भन्दै त्यसतर्फ उच्च सावधानी अपनाउन र कतै शंकास्पद गतिविधि देखिएमा स्थानीय जनप्रतिनिधि, प्रहरी वा जिल्ला प्रशासन कार्यालयमा खबर गर्न भनेको छ ।

गैरकानुनी रुपमा खेलाइने चिठ्ठा, जुवातास जस्ता खेलमा सहभागी नहुन र अनलाइन माध्यमबाट हुने अवैध कारोबार र ठगीबाट बच्न सचेत रहन कार्यालयले आग्रह गरेको छ । कार्यालयले सार्वजनिक सवारीसाधनको आवागमनलाई व्यवस्थित, सहज र प्रभावकारी रुपमा सञ्चालन गर्न यातायात व्यवसायीहरुमा अुनरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए ।

यस्तै वस्तु तथा सेवा प्रदायक निकायलाई उपभोक्ता हकहित संरक्षण र स्वच्छ बजार प्रवद्र्धनमा सहयोग गर्न भनिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा जिल्ला सुरक्षा समितिमार्फत जिल्लामा सवारी आवागमन र यात्रु सहजताको अनुगमन पनि भइरहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले पनि यात्रुको सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणका लागि कुकुरसहितको चेकजाँच, पैदल गस्ती, ग्रामिण गस्ती, पेट्रोलिङ, बजार अनुगमनलगायतका कार्य गरिरहेको छ । दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी प्रहरीले जिल्लामा ‘चाडपर्व विशेष सुरक्षा योजना–२०८२’ लागू गरेको छ ।