• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

कास्कीमा चाडबाडलक्षित सुरक्षा योजना लागू

पोखरा, १२ असोज

दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय, कास्कीले ‘चाडपर्व विशेष सुरक्षा योजना–२०८२’ लागू गरेको छ ।

चाडबाडका बेला हुनसक्ने चोरी, डकैती, लुटपाट तथा उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न बनाइएको उक्त सुरक्षा योजना कार्यान्वयनका लागि जिल्लामा नौ सय २३ जना प्रहरी परिचालन गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

सडक सुरक्षाका लागि नियमित सवारीसाधनको चेकजाँच तथा यात्रु सहायता कक्ष स्थापना गरिएको यात्रुहरुलाई सहजीकरण गरिएको उनले बताए । नियम विपरीत चर्को भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई पनि कडाइपूर्वक चेकजाँच र कारबाही गर्ने गरिएको प्रहरीले जनाएको छ ।

यात्रुको सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणका लागि कुकुरसहितको चेकजाँच, पैदल गस्ती, ग्रामिण गस्ती, पेट्रोलिङ, बजार अनुगमनलगायतका कार्य गरिएको सुचना अधिकारी प्रनाउ बस्नेतले बताए ।

नागरिकलाई शान्ति, सुरक्षाको प्रत्याभूति दिन सादा पोशाकमासमेत प्रहरी परिचालन गरी निगरानी र सुरक्षा सावधानी अपनाइएको कार्यालयले जनाएको छ । जिल्ला सुरक्षा समिति, कास्कीले पनि चाडबाडका बेला सवारी आवागमन र यात्रु सहजताको अनुगमन गर्दै आएको छ ।