• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

सिँहदरबार पुनःनिर्माणमा सहयोगी बन्दै बागलुङ कलाकार समाज

बागलुङ, १२ असोज

‘जेनजी’ आन्दोलनका क्रममा आगजनीमा परेको मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिँहदरबार पुनःनिर्माणका लागि बागलुङ कलाकार समाज, नेपालले आर्थिक सहयोग अभियान सुरु गरेको छ ।

सेवा, सन्देश र मनोरञ्जनलाई मुख्य उद्देश्य बनाएर स्थापित उक्त समाजले यही असोज ६ गते काठमाडौँमा आयोजना गरेको दसैँ, तिहार, छठलगायत पर्वको ‘भर्चुअल’ शुभकामना आदानप्रदान कार्यक्रममा उक्त अभियानको घोषणा गरिएको हो ।

पुनःनिर्माण कोषमा संस्थाका तर्फबाट रु. ५० हजार राखेर अभियान सुरुवात गरिएको समाजका अध्यक्ष लोकगायक बसन्त थापाले बताए । “अहिलेसम्म झण्डै डेढ लाख रुपैयाँ सङ्कलन भइसकेको छ”, उनले भने, “धेरै रकम सहयोग गर्न नसकेपनि देशलाई अफ्टेरो परेका बेला सन्देश दिन खोजिएको हो ।”

तिहारसम्म अभियान सञ्चालन हुने र त्यसपछि सरकारको कोषमा रकम जम्मा गरिने अध्यक्ष थापाले बताए । सुरुमा समाजका तर्फबाट मात्र केही रकम दिने भनिएकामा पछि देशविदेशमा रहेका कलाकारलगायत अन्य शुभेच्छुकहरुले सहयोगको इच्छा देखाएपछि अभियान अगाडि बढाइएको हो ।

अध्यक्ष थापाले सरकारले सुरु गरेको पुनःनिर्माण कार्यमा सहयोगको भावना जागृत गराई अरु सङ्घसंस्थालाई पनि त्यसतर्फ प्रेरित गर्न सन्देशमूलक ढङ्गले यो अभियान सुरु गरिएको बताए ।

सरकारले केही दिनअघि ‘जेनजी’ आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनःनिर्माण, मर्मत, आर्थिक पुनरुत्थान, र राहत कार्यमा लागि भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा योगदान गर्न सबैमा आव्हान गरेको थियो ।