बागलुङ, ११ असोज
राष्ट्रियता र संविधानको रक्षाका लागि राजनीतिक दलसहित सम्बद्ध सबै पक्ष दृढ र जिम्मेवार हुनुपर्नेमा यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । राष्ट्रिय जनमोर्चा, बागलुङद्वारा शनिबार बागलुङ बजारमा आयोजित ‘राष्ट्रियता र संविधानको रक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले संविधानको जगेर्नासँगै प्रभावकारी कार्यान्वयन हुन सकेमा लोकतन्त्र सुदृढ हुने धारणा राखेका हुन् ।
राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सबै देशभक्त र प्रगतिशील शक्तिहरु एकताबद्ध हुनुपर्नेमा सबैको समान मत थियो । जनताको लामो त्याग, सङ्घर्ष र बलिदानबाट प्राप्त भएको अहिलेको संविधान र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका मामलामा कसैसँग कुनै सम्झौता हुन नसक्ने सरोकारवालाहरुले बताएका हुन् ।
रक्षार्थ सबै एकजुट हुनुपर्नेमा जोड दिइएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज बागलुङमा आयोजित एक कार्यक्रमका वक्ताहरुले संविधानको प्रभावकारी कार्यान्वयनसँगै समयसापेक्ष पुनरावलोकन गर्नुपर्ने बताएका हुन् ।
राष्ट्रियता प्रवद्र्धन र संविधानको रक्षाका लागि मुलुकका राजनीतिक दल, नागरिक समाजलगायतको भूमिका महत्वपूर्ण हुने उनीहरुको भनाइ छ । कार्यक्रममा वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले ‘राष्ट्रियता र संविधान रक्षाको प्रश्न’ विषयमा आधारपत्र प्रस्तुत गरेका थिए । उनले इतिहासदेखि वर्तमानसम्म नेपालको राजनीतिक तथा संवैधानिक व्यवस्था, लोकतन्त्र र नागरिक अधिकारको प्राप्तिका लागि जनताको गरेका सघंर्षलगायतका विषयमा आफ्ना धारणा राखेका थिए ।
श्रेष्ठले पछिल्लोपटक नेपालका भएको ‘जेनजी’ विद्रोह मुलुकमा व्याप्त कुशासन र अराजकताको परिणाम भएको बताए । राज्यसत्ताका प्रमुख अंगहरु, प्रशासन, न्यायलसम्म दलीयकरण र भागबण्डा हुँदा नीतिग निर्णयहरुका आडमा भ्रष्टचार मौलाएको वरिष्ठ अधिवक्ता श्रेष्ठले बताए । विशिष्ट भूराजनीतिक स्थितिले गर्दा नेपाल संवेदनशील ठाउँमा रहेकाले सबै सचेत हुनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट जगन्नाथ आचार्य, नेकपा (एकीकृत समाजवादी)का पिंगलराज गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द पौडेल, राजमो जिल्ला सल्लाहकार एवं जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनलगायत विभिन्न राजनीतिक दलका नेताले मुलुकको वर्तमान परिस्थितिमा दलहरुले निभाउनुपर्ने भूमिकाका बारेमा विचार राखेका थिए ।
कार्यक्रममा धवलागिरि बहुमुखी क्याम्पसका प्रा.डा. दिनबहादुर थापा, डा. डिल्लीराज गौतम, भक्तिराम न्यौपाने, बागलुङका बारका अध्यक्ष गीता श्रीस, नेपाल पत्रकार महासंघ, बागलुङका अध्यक्ष राम थापा, प्रगतिशील पत्रकार संघका जिल्ला अध्यक्ष विजय राना, मानवअधिकार संगठनका अध्यक्ष लक्ष्मी जिसी कार्की, बागलुङ उद्योग वाणिज्य संघका केशव ओझालगायतले भनाइ राखेका थिए ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष तिलक थापाको अध्यक्षता, जिल्ला सचिवालय सदस्य लक्ष्मी बाँस्कोटाको स्वागत मन्तव्य र सचिव भिमलाल पोखरेलको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, राजमोबाट निर्वाचित जनप्रतिनिधि, विभिन्न पेसागत संघसंगठनलगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।