पोखरा, १० असोज
‘जेनजी’ आन्दोलनको असर मुलुकको पर्यटन क्षेत्रमा पनि परेको छ । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा पनि पर्यटक आगमन प्रभावित बनेको छ । आन्दोलनपछि भारतीय पर्यटक उल्लेख्य रुपमा घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताए ।
‘जेनजी’ आन्दोलन सुरु हुनुअघि एकै दिनमा सात सय नौ जनासम्म दक्षिण एसियाली मुलुकका पर्यटकले प्रवेश अनुमति लिएकामा आन्दोलनपछि उक्त संख्या अघिल्लो बिहीबार ७९ मा सीमित भएको उनको भनाइ छ ।
“सार्क क्षेत्रभित्र भारतीय पर्यटकको संख्या घटेको छ, तेस्रो मुलुकका पर्यटक आगमन पनि केही प्रभावित बनेको छ”, प्रमुख डा कडरियाले भने, “गत वर्षको तुलनामा यस वर्ष सेप्टेम्बर महिनामा विदेशी पर्यटक झण्डै आधाले घट्ने देखिएको छ ।” गत वर्ष सेप्टेम्बरमा २३ हजार ८८ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए ।
यस वर्ष सेप्टेम्बर १८ अर्थात् अघिल्लो बिहीबारसम्ममा जम्मा नौ हजार नौ सय ९९ पर्यटकले प्रवेश अनुमति लिएका छन् । जसमध्ये दक्षिण एसियाली मुलुकका पाँच हजार पाँच सय ४९ र अन्य देशका चार हजार चार सय ५० पर्यटक रहेका छन् । मुख्य पर्यटकीय याम सुरु भइरहेका बेला भएको आन्दोलनले पर्यटक आगमन प्रभावित भएको प्रमुख डा कडरियाले बताए ।
“आन्दोलन सकिएर अहिले जनजीवन सामान्य भइसकेको छ, अन्नपूर्ण क्षेत्रका कुनै पनि गन्तव्यमा आन्दोलनबाट क्षति पुगेको छैन”, उनले भने, “शान्त र सुरक्षित वातावरणमा अन्नपूर्ण क्षेत्रको घुमफिर गर्न सकिन्छ, पदयात्राका लागि पनि यो याम उत्तम मानिन्छ ।”
पर्यटनका हिसाबले असोज र कात्तिक महिनालाई मुख्य याम मानिन्छ । दसैँ, तिहार जस्ता ठूला चाडबाड यहीबेला पर्ने भएकाले मानिसहरु घुमफिरको बनाइरहेका हुन्छ । ‘जेनजी’ आन्दोलनका कारण पर्यटन क्षेत्र मारमा परेपनि नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश विश्वमाझ दिएर पुनः पर्यटन क्षेत्रलाई लयमा फर्काउनुपर्ने ट्रेकिङ ऐजिन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।
“असोज र कात्तिक सबैभन्दा बढी विदेशी पर्यटक आउने याम हो, ठ्याक्कै यही बेला आन्दोलन भयो, अन्यौलको अवस्था कायमै छ, बुकिङ गरिसकेका पर्यटक पनि आउन डराइरहेका छन्, कतिले बुकिङ रद्ध गरेका छन्”, उनले भने । विदेशी पर्यटकलाई सुरक्षित तबरले गन्तव्यस्थलसम्म पु¥याउने काममा ‘टान’लगायत पर्यटन सम्बद्ध सङ्घसंस्थाले सहजीकरण गरिरहेको अध्यक्ष आचार्यले बताए ।
यो याममा विशेष गरी पदयात्राका लागि विदेशी पर्यटकहरु आउने गरेको उनको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्रा पर्यटनका लागि विश्वमाझ परिचित गन्तव्य हो । गत आवमा दुई लाख ७८ हजार एक सय १३ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए । तीमध्ये दक्षिण एसियाली मुलुकका एक लाख ५७ हजार सात सय ८६ र अन्य देशका एक लाख २० हजार तीन सय २७ पर्यटक रहेका थिए ।
वर्षात् र जाडो याममा यस क्षेत्रमा आउने पदयात्री पर्यटकको संख्या न्यून हुने गरेपनि अन्य समयमा भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेको छ । सडकमार्गबाट घुम्न र पदयात्रा गर्न आउने विदेशी पर्यटकको संख्या बर्सेनि वृद्धि भइरहेकामा अहिले मुलुकमा देखिएको असहज परिस्थितिले पर्यटक आगमन प्रभावित बनेको आयोजना कार्यालयले जनाएको छ ।
