बागलुङ, ७ असोज
दसैँको छेकोमा लोकगायक विष्णु खत्रीले ‘प्यारो गाउँघरमा’ गीत दर्शक/स्रोतामाझ ल्याएका छन् । यो खत्रीको अठारौँ दसैँगीत हो । उनले विसं २०६४ यता बर्सेनि दसैँगीत सार्वजनिक गर्दै आएका छन् । उनको पहिलो दसैँगीत ‘सुनको जलप’ हो । जुन निकै चर्चित बनेको थियो । सोमबार युट्युबमा सार्वजनिक गीत ‘प्यारो गाउँघरमा’मा खत्री र देवी घर्ती मगरले स्वर दिएकी छिन् ।
खत्रीको शब्द र सङ्गीत रहेको उक्त गीतको म्यूजिक भिडियोमा कलाकार ओभी रायमाझी र सारिका केसीको अभिनय रहेको छ । सुमधुर क्रियसन प्रालिद्वारा प्रस्तुत उक्त गीतलाई युट्युबमा एकदिनमै २० हजारभन्दा बढीपटक हेरिएको/सुनिएको छ । खत्रीका अधिकांश दसैँगीतमा प्रवासी नेपालीका दुःख, वेदनालाई समेटिएको पाइन्छ । परदेशिएका नेपाली र तिनका आश्रित परिवारको कथामा दसैँगीत सिर्जना गर्दै आएको खत्री बताउँछन् । उनका गीतले चाडबाड आएको छनक पनि दिन्छन् ।
मार्मिक सिर्जना र ग्रामिण परिवेशको झझल्को खत्रीका गीतका विशेषता हुन् । गीतको म्यूजिक भिडियो छायाँकनस्थलदेखि कलाकार छनोटसम्ममा त्यसको छनक पाइन्छ । गम्भीर मुद्दामा सरल र बोधगम्य प्रस्तुति दिन उनी पारङ्गत छन् । आफ्ना हरेक सिर्जनामा नेपाली जनजीवन र सामाजिक यथार्थको चित्रण गर्ने इमान्दार प्रयास गर्दै आएको खत्रीको भनाइ छ । “दसैँगीत मेरो साङ्गीतिक जीवनको पर्याय जस्तै बनेको छ, विगत १८ वर्षदेखि यसलाई निरन्तरता दिएको छु”, उनले भने ।
दुई दशकभन्दा बढी समयदेखि लोकसङ्गीतमा सक्रिय उनले दसैँ, तिहार, तीजजस्ता पर्वका मौकामा मौलिक गीत सार्वजनिक गर्दै आएका छन् । अघिपछि पनि उनी समाजका विविध मुद्दालाई गीतमा उठान गरिरहन्छन् । गत वर्षको दसैँमा खत्रीले ‘रित्तो भकारी’ गीत ल्याएका थिए । त्यसअघि उनका ‘दसैँ–तिहार गाउँमा’, ‘दसैँ–तिहार सँगै मनाउँला’, ‘रिनै रिनको’, ‘दसैँमा आउ प्यारा’, ‘जहाजको टिकट’, ‘कति रुनी हो’लगायत गीत सार्वजनिक भएका थिए । प्रायः सबै गीतमा शब्द र सङ्गीत पनि गायक खत्रीकै रहेको छ ।
विसं २०६४ मा सार्वजनिक पहिलो दसैँगीत ‘सुनको जलप’मा खत्रीलाई गायिका बिमाकुमारी दुराले साथ दिएकी थिइन् । पछिल्ला गीतमा उनले विभिन्न गायिकाहरुसँग सहकार्य गर्दै आएका छन् । १८ वर्षदेखि लगातार दसैँलक्षित गीत सार्वजनिक गर्नुभएका खत्री दसैँगीतका पर्यायका रुपमा चिनिन थालेका छन् । उनका गीतमा परदेशिएका नेपालीको भोगाइ र उनीहरुको मनोदशाको सजीव प्रस्तुति पाइन्छ । बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मेका खत्रीका दसैँगीतबाहेक ‘भरिया दाइ’, ‘कि सास चाहियो कि लास चाहियो’, ‘जम्मु काश्मिरमा’ लगायत दर्जनौँ लोक तथा दोहोरी गीत चर्चित छन् ।