बागलुङ, ६ असोज
राजनीतिक दलहरुप्रतिको वितृष्णाले जेनजी विद्रोह जन्माएको भन्दै आत्मालोचनासहित रुपान्तरित हुनुबाहेक दलहरुसँग अर्को विकल्प नभएकामा यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, जिल्ला समिति बागलुङद्वारा आज बागलुङ बजारमा आयोजित ‘जेनजी विद्रोह, नयाँ परिस्थिति र निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा दलहरुले जेनजी आन्दोलनका माग र मुद्दालाई सम्बोधन गर्नुपर्नेमा जोड दिइएको हो ।
वक्ताहरुले राजनीतिक दल र तिनका नेतृत्वले विगतका गरेका गल्तीप्रति आत्मालोचना गर्दै सच्चिने प्रण गर्नुपर्ने बताएका हुन् ।
जेनजी पुस्ताको आवाजलाई बेवास्ता गरे पुनः अर्को विद्रोह हुनसक्नेतर्फ राज्य र सम्बन्धित पक्षहरु संवेदनशील हुनुपर्ने उनीहरुको भनाइ छ ।
उक्त कार्यक्रममा नेकपाका पोलिटब्यूरो सदस्य एवं जिल्ला इञ्चार्ज आजाद ‘सी’ले जेनजी विद्रोहपछि उत्पन्न राजनीतिक परिस्थितिबारे पार्टीको धारणा राखेका थिए ।
उनले मुलुकमा व्याप्त भ्रष्टचार, दलाली, तस्करी आदि कारणले जेनजी विद्रोह निम्तिएको बताए । इञ्चर्जा ‘सी’ले राज्यको अग्रगामी पुनःसंरचना, संविधानको पुनर्लेखनसँगै सर्वपक्षीय अन्तरिम सरकार निर्माण हुनुपर्नेमा जोड दिए । “अहिले बनेको अन्तरिम सरकार विदेशीको स्वार्थपूर्तिका लागि बनेको हो, यसले जेनजी विद्रोहलाई असफलतातिर लैजाने खतरा देखिएको छ”, उनले भने, “देश अन्यौलनको अवस्थामा छ, विदेशी शक्तिकेन्द्रको क्रीडास्थलमा परिणत हुँदैछ ।”
पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत सबै वर्ग र जातिको समानुपातिक सहभागिताको सुनिश्चितता गर्नुपर्ने उनले बताए । इञ्जार्च ‘सी’ले नेकपाले चुनावलाई संघर्षको मोर्चाको रुपमा उपयोग गर्ने नीति लिएको बताए । उनले मुलुकलाई सही निकास दिन कम्युनिष्ट घटकहरु, लोकतान्त्रिक शक्ति, समाजवादी शक्ति र देशभक्तहरुबीच धु्रवीकरण हुनसक्ने बताए ।
कम्युनिष्ट पार्टीहरुबीच नेपाली विशेषताको समाजवादमा आधारित रहेर एकता गर्नुपर्ने उनको भनाइ छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापालगायत विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, नागरिक समाजका अगुवा, अधिवक्ता, बुद्धिजीवी, पत्रकारलगायतको सहभागिता रहेको थियो ।
जिसस प्रमुख थापा, धवलागिरि बहुमुखी क्याम्पसका प्रा.डा. दिनबहादुर थापा, सहायक क्याम्पस प्रमुख डा. डिल्लीराज गौतम, उच्च अदालत बार इकाइ बागलुङका अध्यक्ष गीता श्रीस, नेकपा (माओवादी केन्द्र) बागलुङका संयोजक राजिव घिमिरे, नेपाली कांग्रेस नेपाली कांग्रेस बागलुङका जिल्ला सदस्य जगन्नाथ आचार्य, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, धवलागिरि बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख गोविन्द गौतम, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद निउरे, नागरिक समाजका संयोजक वरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठ, दलित मुक्ति मोर्चाका सचिव टिका विक, एकीकृत समाजवादी बागलुङका अध्यक्ष पिंगलराज गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङका कार्यालय सचिव रामप्रसाद शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

