बागलुङ, ६ असोज
दसैँ, तिहार जस्ता ठूला चाडबाडमा हुने यात्रुहरुको चापलाई दृष्टिगत गर्दै जिल्लाको मालढुङ्गा, बागलुङ बजार, गलकोटको हटिया र बुर्तिबाङमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । मालढुङ्गामा स्थापना गरिएको यात्रु सहायता कक्षको सोमबार प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङले शुभारम्भ गरे ।
उनले यात्रुलाई सुरक्षित तबरले गन्तव्यसम्म पुग्न सहायता कक्षबाट सहजीकरण हुने बताए । प्रजिअ गुरुङले चाडबाडका बेलामा यात्रुको आउजाउ बढी हुने भएकाले सडक सुरक्षालगायत यात्रुको सुविधामा ट्राफिक प्रहरीलगायत स्थानीय प्रशासनले विशेष ध्यान दिनुपर्ने बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, बागलुङका प्रमुख मिनबहादुर कुँवरले जिल्लाका मुख्य नाका र बजार क्षेत्रमा यात्रु सहायता कक्ष स्थापना गरिएको जानकारी दिए ।
उक्त कक्षबाट चौबिसै घण्टा यात्रुलाई सेवा दिइने उनको भनाइ छ । यात्रु सहायता कक्षबाट ट्राफिक नियम, यातायात भाडादर, सडक सवारी सुरक्षालगायतका विषयमा सर्वसाधारणलाई सूचितसमेत गर्ने गरिएको प्रमुख कुँवरले बताए ।
