• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

नवरात्र सुरु, बागलुङ कालिकामा भक्तजनको चहलपहल

बागलुङ, ६ असोज

हिन्दुहरुको महान पर्व बडादसैँ अर्थात् नवरात्र आजदेखि सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा घटस्थापना गरिँदैछ । नवरात्र सुरु भएसँगै बागलुङस्थित देशकै प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा भक्तजनको चहलपहल बढेको छ । बडादसैँको नवदुर्गामा यहाँ विशेष पूजाआजा हुने गर्छ ।

घटस्थापनाका दिनदेखि नै मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गरेको कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । शक्तिस्वरुपा देवी भवगतीको दर्शनका लागि देशका विभिन्न भू–भागबाट भक्तजनहरु कालिका मन्दिर आउने गरेको उनको भनाइ छ ।

नवरात्रको अवधिमा बिहान तीन बजेदेखि नै पूजाआजा सुरु हुने गरेको अध्यक्ष खड्काले बताए । पूजा व्यवस्थापन, सुरक्षालगायत भक्तालुको सुविधाका लागि समितिले विशेष प्रबन्ध मिलाएको उनले बताए । बडादसैँको अवधिमा लाखौँ भक्तजनले मन्दिरको दर्शन गर्ने अनुमान गरिएको छ ।

कालिका भगवती मन्दिरमा पूजाआजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । मन्दिरमा महाकाली, महालक्ष्भी र महारसरस्वतीको पूजाआजा हुने गरेको छ । नवरात्रभर बली लिएर पनि पूजा गरिन्छ । मन्दिरमा कुखुरा, हाँस, बोका, सुँगुर र राँगोको बली दिने प्रचलन छ ।

विसं १५९१ मा स्थापना भएको यस मन्दिरको आफ्नै ऐतिहासिक महत्व र प्रसिद्धि छ । तत्कालीन पाल्पाली राजाले आफूले पूजाआजा गर्दै आएको माझकी देवीको मूर्ति छोरीलाई दाइजो दिएको र सो मूर्तिलाई पर्वत राज्यमा ल्याउने क्रममा यहाँ डोली बिसाएको इतिहासमा उल्लेख छ । पछि डोली उठाउन खोज्दा कसैले उठाउन नसकेपछि देवीको मूर्तिलाई यहीँ राखेर पूजापाठ सुरु गरिएको किम्बदन्दी छ । तिनै माझकी देवीलाई अहिले कालिका भगवतीका रुपमा पूज्ने गरिन्छ ।

देशका विभिन्न भूभागदेखि भारतसम्मका धार्मिक पर्यटक कालिका मन्दिर दर्शनका लागि आउने गरेको समितिका उपाध्यक्ष निशान खड्काले बताए । मन्दिरमा बाह्रै महिना नियमित पूजाआजा हुने गरेको छ । साउन, पुस महिना, औँशी र एकादशीमा मन्दिरमा बली नचढ्ने उपाध्यक्ष खड्काले बताए ।

तत्कालीन पर्वत राज्यका राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग विवाह गर्ने क्रममा दाइजो स्वरुप ल्याएको माझकी देवीको मूर्तिलाई अहिले कालिका भगवती मन्दिर रहेको ठाउँमा प्रतिस्थापन गरि पूजापाठ सुरु गरिएको किम्बदन्दी छ ।