• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

बागलुङका दलले सक्रियता बढाए

बागलुङ, ५ असोज

‘जेनजी’ आन्दोलनका क्रममा पार्टी कार्यालयमा भएका तोडफोड र आगजनीका घटनाले केही समय अस्तव्यस्त बनेका बागलुङका राजनीतिक दलहरुले पुनः आफ्नो सक्रियता बढाएका छन् । ‘जेनजी’ पुस्ताले उठाएका माग र मुद्दामा समर्थन जनाउँदै दलहरु पार्टीका नियमित गतिविधिमा फर्केका हुन् ।

तीन ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का जिल्ला पार्टी कार्यालयमा प्रदर्शनकारीको निशानामा परेका थिए । पार्टी कार्यालयका बोर्ड, झण्डा, फर्निचर, कागजातलगायत सामग्री सडक ल्याएर आगो लगाइएको थियो । तुलनात्मक रुपमा बागलुङको ‘जेनजी’ आन्दोलन शान्तिपूर्ण रहेपनि आन्दोलनकारीले राजनीतिक दलका कार्यालयमा क्षति पुर्याएका थिए ।

आन्दोलन रोकिएर परिस्थिति साम्य भएसँगै दलहरु आन्तरिक समीक्षा र भावी योजनामा केन्द्रित बनेका छन् । नेताहरुले कार्यकर्ताहरुसँगको भेटघाटलाई तिब्रता दिएका छन् । आन्दोलनपछि केही समय बन्द रहेका दलका कार्यालय पूर्ववत् रुपमा सञ्चालनमा आएका छन् । नेपाली कांग्रेसले गत बुधबारदेखि र नेकपा (एमाले)ले बिहीबारदेखि पुरानै कार्यालयबाट पार्टी कामलाई निरन्तरता दिएको हो । नेकपा (माओवादी केन्द्र)ले संविधान दिवसका दिनदेखि जिल्ला पार्टी कार्यालय पुनः सुचारु गरेको हो ।

एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले ‘जेनजी’ पुस्ताका जायज माग र मुद्दामा एमालेको ऐक्यबद्धता रहेपनि हिंसा र अपराधिक घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले प्रदर्शनकारीले क्षति पुर्याएको कार्यालयलाई पुनः सक्रिय बनाई पार्टी गतिविधि अगाडि बढाइएको बताए । युवा पुस्ताको माग र आकङ्क्षालाई आत्मसात गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ । मुलुकमा देखिएको चौतर्फी निराशा र आक्रोश युवा विद्रोहमा परिणत भएको अध्यक्ष केसीले बताए ।

नेपाली कांग्रेस बागलुङले पार्टी कार्यालयलाई सुचारु गर्दै संविधानको रक्षाका विषयमा अन्तरक्रियासहित संविधान दिवस मनायो । शनिबार साँझ ‘जेनजी’ आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवाहरुको सम्मानमा लोकतान्त्रिक चोकमा दीप प्रज्वलनसमेत गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव हरिहर शर्माले जानकारी दिए । कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुकलगायतको उपस्थितिमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम गरिएको हो ।

‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको १३औँ दिनको पुण्य तिथि पारेर शनिबार सबै जिल्लामा कांग्रेसले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका थियो । सचिव शर्माले आन्दोलनका क्रममा युवाहरुले उठाएका माग र मुद्दालाई राज्यले सम्बोधन गर्नुपर्ने बताए । संविधानको रक्षासँगै घोषित समयमा निर्वाचन सम्पन्न गर्न कांग्रेसले अगुवाई गर्नुपर्ने उनको भनाइ छ ।

नेकपा (माओवादी केन्द्र), जिल्ला समन्वय समितिका संयोजक राजीव घिमिरेले ‘जेनजी’ आन्दोलनका क्रममा आगजनीमा परेको जिल्ला पार्टी कार्यालयलाई संविधान दिवस पारेर शुक्रबारदेखि पुनः सञ्चालनमा ल्याइएको बताए । उक्त अवसरमा दीप प्रज्वलनसमेत गरिएको थियो । प्रदर्शनकारीले गत भदौ २४ गते बागलुङ सदरमुकामस्थित माओवादी केन्द्र जिल्ला समन्वय समितिको कार्यालयका कागजात र फर्निचरमा आगजनी गरी क्षति गरेका थिए ।

आगाले जलेका पार्टी कार्यालयको बोर्ड र झण्डा पनि फेरिएको संयोजक घिमिरिले बताए । प्रदर्शनकारीले तीनवटै दलका कार्यालय भाडाका घरबाट सञ्चालित रहेकाले भवनमा भने आगलागी गरेका थिएनन् । परिवर्तित राजनीतिक परिस्थितिका विषयमा जिल्लामा क्रियाशील अन्य राजनीतिक दलले पनि आन्तरिक छलफल तथा अन्तरक्रिया गरिरहेका छन् ।

राष्ट्रिय जनमोर्चाले शुक्रबार बुर्तिबाङमा जिल्ला प्रशिक्षण भेलाको आयोजना गरेको थियो । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिँहको उपस्थितिमा उक्त कार्यक्रम गरिएको थियो । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सोमबार बागलुङ बजारमा ‘जेनजी विद्रोह, नयाँ परिस्थिति र अबको निकास’का विषयक अन्तरक्रिया कार्यक्रम गर्न लागिएको जनाएको छ ।