• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

पार्टीको विशेष महाधिवेशन गर्नुपर्ने कास्की कांग्रेसको माग

पोखरा, ५ असोज

नेपाली कांग्रेस जिल्ला कार्यसमिति, कास्कीले पार्टीको विशेष महाधिवेशनको माग गरेको छ । आइतबार बसेको जिल्ला कार्यसमिति बैठकले देशको पछिल्लो अवस्थाका बारेमा गम्भीर समीक्षा गर्दै विशेष महाधिवेशनको माग गरेको पार्टीका सहसचिव तथा प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

बैठकले यथाशीघ्र क्रियाशील सदस्यता नवीकरण गरी यही मंसिरभित्र नै विशेष महाधिवेशन गर्ने नभए १४औं महाधिवेशनका प्रतिनिधिहरुबाट नै विशेष महाधिवेशनको माग गर्ने निर्णय गरिएको प्रवक्ता सिग्देलले बताए ।

बैठकले पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री आरजु देउवा राणा माथिको आक्रमण, तोडफोड र आगजानीको घटनाप्रति दुःख र निन्दा व्यक्त गरेको छ ।

नेपाली कांग्रेस, कास्कीका कार्यवहाक सभापति रामबाबु भण्डारीको अध्यक्षतामा आइतबार बसेको बैठकले देशभर भएको सरकारी तथा व्यक्तिगत सम्पत्तिमाथिको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको उल्लेख गर्दै त्यसको भत्सर्ना गरेको हो ।

त्यसैगरी जिल्ला पार्टी कार्यालय, चिप्लेढुड्डामा रहेको बिपी कोइरालाका सालिक, हरिचोकमा रहेको सहिद हरिप्रसाद गुरुङको सालिकसँगै अन्य सहिदहरुको सालिक तोडफोड तथा आगजनीको निन्दा गरेको छ ।

बैठकले पार्टी कार्यालय पुनःनिर्माण तथा बिपी कोइराला र सहिद हरिप्रसाद गुरुङको सालिक पुनःस्थापना गर्नका लागि पार्टी सदस्यहरुलाई सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालयको क्षति मुल्याड्ढन र पुनःनिर्माणको लागत पेश गर्ने जिम्मा जिल्ला कार्यसमिति सदस्य इन्जिनियर सागर मोहन भट्टराईलाई जिम्मा दिइएको छ । साथै कास्की जिल्ला माताहतमा रहेका क्षेत्र, प्रदेशसभा, पालिका र सम्पूर्ण वडा कार्यसमितिको तत्काल बैठक बसी पार्टी सदस्यहरुलार्य क्रियाशील बनाउन बैकठले आह्वान गरेको छ ।