• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

संविधान परिमार्जन गर्नुपर्नेमा जोड

बागलुङ, ३ असोज

जनताको लामो त्याग, सङ्घर्ष र बलिदानबाट प्राप्त भएको अहिलेको संविधानको रक्षार्थ सबै एकजुट हुनुपर्नेमा जोड दिइएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज बागलुङमा आयोजित एक कार्यक्रमका वक्ताहरुले संविधानको प्रभावकारी कार्यान्वयनसँगै समयसापेक्ष पुनरावलोकन गर्नुपर्ने बताएका हुन् ।

संविधानसभा सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य चम्पादेवी खड्काले संविधानको रक्षा र सुदृढीकरणमा मुलुकका राजनीतिक दल, नागरिक समाजलगायतको भूमिका महत्वपूर्ण हुने बताए । उहाँले ‘जेनजी’ आन्दोलनका क्रममा प्रकट भएको युवा पुस्ताको माग र चाहनालाई पनि संवैधानिक र लोकतान्त्रिक विधिबाट सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।

संविधानसभा सदस्य नरबहादुर थापाले परी समयसोपक्ष रुपमा जनताको आवश्यकता अनुसार संविधानलाई परिमार्जन गर्नुपर्ने बताए । “जेनजी आन्दोलनले पनि संविधानको पुनरावलोकनका बारेमा सोच्न बाध्य बनाएको छ, यसलाई गम्भीर रुपले मनन गर्नुपर्छ”, उनले भने, “संविधान रहेन भने मुलुक अराजकतामा जान्छ, मुलुकको सार्वभौमसत्ता नै सङ्कटमा पर्छ, यसर्थ यसको रक्षा गर्नु हामी सबैको कर्तव्य र दायित्व हो ।”

उनले संविधानभित्र रहेको अन्र्तवस्तु र मर्मलाई आत्मसात गर्दै जनतालाई महशुस हुने संविधान कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ छ । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले राजनीतिक दलसहित राज्य सञ्चालनको प्रमुख जिम्मेवारीमा रहेका पदाधिकारीहरुको व्यवहार र आचरणमा सुधार ल्याउनुपर्ने बताए ।

“हामीले गणतन्त्र ल्यायौँ, संविधान पनि बनायौ, तर हाम्रो आचरण र व्यवहार सुधार्न नसक्दा जनतालाई सुशासन दिन सकेका छैनौँ”, उनले भने, “जतिसुकै राम्रो संविधान भएपनि त्यो व्यवहारमा लागू हुन सकेन भने त्यसले जनतामा निराशा बढाउँछ, अहिलेको जेनजी आन्दोलनमा पनि त्यही कुराको अभिव्यक्ति भएको छ ।”

प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङले संविधान दिवस तथा राष्ट्रिय दिवसले सबै नेपालीलाई राष्ट्रिय एकता, सार्वभौमसत्ताको रक्षा र लोकतन्त्रका पक्षमा दृढ भएर उभिन प्रेरित गर्ने बताए । उनले लोकतन्त्र र संविधानको जगेर्ना तथा सुदृढीकरणमा सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

उच्च अदालत बार एकाए, बागलुङका अध्यक्ष गीता श्रीसले सबै नेपाली नागरिक संविधानको रक्षक भएको बताइन् । उनले दशकौँको प्रतीक्षापछि संविधानसभाबाट संविधान बनेको भन्दै उहाँले संविधानमा उल्लेख मौलिक हकको कार्यान्वयनमा जोड दिइन् । नागरिकको संवैधानिक हकको सुरक्षा गर्नु राज्यको दायित्व रहेको भन्दै अध्यक्ष श्रीसले संविधान विपरीतका क्रियाकलाप हुँदा सबैले खबरदारी गर्नुपर्ने धारणा राखिन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिद्वारा आयोजित उक्त कार्यक्रमका अवसरमा बागलुङ नगरपालिका–१ बाङ्गेचौरस्थित सहिद स्मृति उद्यानमा रहेका सहिदका सालिकमा माल्यार्पण गरिएको थियो । यसअघि दिवसको अवसर पारेर बिहीबार धवलागिरि अस्पतालका बिरामीलाई फलफूल र धवलागिरि बहिरा आवसीय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई खेलकुद सामग्री वितरण गरिएको थियो ।

सोही अवसरमा कारागार कार्यालयमा रहेका कैदीबन्दी, मानवसेवा आश्रममा रहेकाहरुलाई खेलकुद, खाद्यान्नलगायत सामग्री हस्तान्तरण गरिएको दिवस मूल समारोह समितिले जनाएको छ । त्रिदिवसीय कार्यक्रमसहित संविधान दिवस मनाइएको हो ।