पोखरा, ३ असोज
गण्डकी प्रदेश सरकार का मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव हुने बताएका छन ।
संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ को अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आज आयोजना गरेको संविधान दिवस मूल समारोह कार्यक्रममा उहाँले संविधानको रक्षा, कार्यान्वयन र सुदृढीकरणमा सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए ।
प्रदेश सरकार, संघीय सरकार र स्थानीय तहबीच समन्वय गर्दै रोजगारी सिर्जना, लगानीमैत्री वातावरण, भौतिक संरचनाको पुनर्निर्माण र जनमत्री सेवाको विस्तारमा निरन्तर अघि बढ्ने मुख्यमन्त्री पाण्डेले बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै गण्डकी प्रदेश र सिङ्गो मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता रहेको उनको भनाइ छ ।
“संविधानको भावनालाई जनताको जीवनमा महशुस हुने गरी कार्यान्वयन गर्न प्रदेश सरकार प्रयत्नशील रहेको छ”, मुख्यमन्त्री पाण्डेले भने, “लोकतान्त्रिक मूल्य मान्यता र प्रक्रियालाई सुदृढ बनाउन हामी सबै जिम्मेवार बन्न आवश्यक छ ।