बागलुङ, ३ असोज
बागलुङमा संविधान दिवस एवं राष्ट्रिय दिवस मनाइएको छ । दिवस मूल समारोह समितिको आयोजनामा आज बिहान प्रभातफेरीसहित बागलुङ नगरपालिका–१ बाङ्गेचौरस्थित सहिद स्मृति उद्यानमा पुगी दिवस मनाइएको हो । सो अवसरमा उद्यानमा रहेका सहिदका प्रतिमामा माल्यार्पण गरिएको थियो ।
संविधानसभा सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य चम्पादेवी खड्का, संविधानसभा सदस्य नरबहादुर थापा, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङ, बागलुङ बारका अध्यक्ष गीता श्रीसलगायतले संविधानका अन्र्तवस्तु र यसको महत्वका बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा राजनीतिक दलका प्रमुख, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र सर्वसाधारणको सहभागिता रहेको थियो । दिवस मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।





