• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday
  • Unicode Converter

एमाले बागलुङले भन्यो : जेनजीका जायज मुद्दामा हाम्रो ऐक्यबद्धता छ

बागलुङ, २ असोज

भ्रष्टचारको अन्त्य र सुशासनका पक्षमा जेनजी पुस्ताले उठाएको माग र मुद्दामा नेकपा (एमाले) बागलुङले ऐक्यबद्धता जनाएको छ । आज जिल्ला पार्टी कार्यालय परिसरमा आयोजित एक कार्यक्रममा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले एमाले जेनजी पुस्ताको साथमा रहेको बताए ।

“जेनजीले गरेको भ्रष्टचारविरोधी आन्दोलनमा हाम्रो समर्थन छ, जेनजी पुस्ताको माग राज्यले पहिले नै सम्बोधन गर्नुपथ्र्यो, यसमा ढिलाई हुँदा युवा विद्रोहका रुपमा सडकमा विष्फोट भयो”, उनले भने, “जेनजीले उठाएका जायज मुद्दाको सम्बोधनका लागि सरकारले उचित पहल गरोस् ।” अध्यक्ष केसीले जेनजी आन्दोलनका आडमा भएको हिंसात्मक गतिविधिको भने निन्दा गरे ।

उनले गत भदौ २४ गते देशव्यापी रुपमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे । अध्यक्ष केसीले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताए । अन्तरिम सरकारले घोषणा गरेको निर्वाचन सफल पार्नु सबै राजनीतिक दलको जिम्मेवारी रहेको उनको भनाइ छ । अध्यक्ष केसीले घोषित मितिमै निष्पक्ष र धाँधलीरहित निर्वाचन हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य मनकुमारी केसी, केन्द्रीय सदस्य इन्द्रलाल सापकोटालगायतको उपस्थिति रहेको थियो । एमाले बागलुङले जेनजी आन्दोलनका कारण बन्द भएको कार्यालयलाई आजदेखि पुनः सञ्चालनमा ल्याइएको जनाएको छ । जेनजी प्रदर्शनीकारीले एमाले पार्टी कार्यालयका फर्निचर, कागजातलगायतका सामग्रीमा आगजनी गरेका थिए ।