बागलुङ, १ असोज
साउनदेखि कात्तिकसम्मको यामलाई डेङ्गी सङ्क्रमणको उच्च जोखिमको समय मानिन्छ । गत वर्षको तुलनामा यसपालि डेङ्गी सङ्क्रमणको दर कम देखिएपनि जोखिमको समय अझै बाँकी रहेकाले सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । लामखुट्टको टोकाइबाट बच्नु नै डेङ्गी सङ्क्रमणबाट जोगिने उत्तम उपाय भएको उनीहरुको भनाइ छ ।
‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गी रोग सर्ने गरेको छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने गरेको छ । यो लामखुट्टेले दिनमा मात्र टोक्ने गरेको छ । धवलागिरि अस्पतालका चिकित्सक प्रभात सिँहले डेङ्गीबाट बच्न घर, कार्यालय र सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने बताए ।
डेङ्गी सङक्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिए अस्पतालको विशेष निगरानीमा उपचार गर्नुपर्ने चिकित्सक सिँहले बताए । गर्भवती र बालबालिकालाई डेङ्गी रोगले जटिलता ल्याउन सक्ने हुँदा विशेष सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । अधिकांश बिरामी सामान्य उपचार र हेरचाहपछि निको हुने गरेपनि कतिपयमा डेङ्गीले जटिल समस्या ल्याउने गरेको छ ।
डेङ्गीबाट ज्यान जोखिममा पर्न सक्ने भएकाले सामान्य रोग हो भन्ने सोचेर लापरबाही नर्गन सर्वसाधारणलाई चिकित्सक÷स्वास्थ्यकर्मीको सुझाव छ । डेङ्गी हुँदा शरीरलाई प्रशस्त झोलिलो पदार्थ र आरामको जरुरी हुने पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले बताए । डेङ्गी सङ्क्रमका बेला आफूखुसी औषधि सेवन गर्न नहुने उनको भनाइ छ ।
चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको छ । गत वर्षको तुलनामा यो वर्ष सङ्क्रमण दर कम देखिएपनि जोखिम भने अझै कायमै रहेको जनस्वास्थ्य निरीक्षक रेगमीले बताए । पोखरा गत वर्ष डेङ्गीको ‘हटस्पट’ बनेको थियो । उक्त वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार छ सय जनाभन्दा बढीमा डेङ्गी सङ्क्रमण भएको थियो । डेङ्गी सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको थियो ।
समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेङ्गीले महामारीको रुप लिन सक्ने हुनाले सबै सचेत हुनुपर्ने जनस्वास्थ्य निरीक्षक रेग्मीको भनाइ छ । लापरबाही गर्दा ज्यानै जोखिममा पर्ने भएकाले उनले डेङ्गीलाई सामान्य रुपमा नसोच्न आग्रह गरे ।
“डेङ्गी भइसकेपछि अचाक्ली पीडा र दर्द हुन्छ, उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै गएर बिरामीको मृत्युसमेत हुनसक्छ”, उनले भने । डेङ्गी न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि सम्बन्धित निकायले सक्रियता बढाएका छन् । स्थानीय तहहरुले डेङ्गी रोग फैलन नदिन डेङ्गी सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्दै आएका छन् ।
डेङ्गीको शङ्का लागेमा तुरुन्त परीक्षण गरी र आवश्यकता अनुसार उपचार सुरु गर्नुपर्ने चिकित्सक बताउँछन् । डेङ्गीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने गरेका छन् ।