नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीका रुपमा सुशीला कार्कीले मुलुकको बागडोर सम्हालेकी छिन् । अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिएकी छिन् । उनलाई राष्ट्रपति पौडेलले संविधानको धारा–६१ अनुसार आजै प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । जेनजी आन्दोलनले नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । कार्की नेतृत्वको अन्तरिम सरकारले छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउनेछ ।
यस्तो छ नवनियुक्त प्रधानमन्त्री कार्कीको पृष्ठभूमि
पहिलो महिला प्रधानमन्त्रीका रुपमा मुलुकको बागडोर सम्हालेकी सुशीला कार्कीको जन्म विसं २००९ मा विराटनगरको शंकरपुरमा भएको थियो । बुबा डिल्लीराम र आमा लिलादेवी कार्कीकी पहिलो सन्तानका रुपमा जन्मिएकी कार्कीका चार बहिनी र दुई भाइ छन् । पुर्ख्यौली थलो धनकुटाको अखौले जितपुर रहेको सुशीलाको प्रारम्भिक शिक्षा विराटनगर शंकरपुरमै रहेको जनता माध्यमिक विद्यालयमा भएको हो । उनले एसएलसी त्यही विद्यालयबाट गरिन् । विराटनगरकै महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट आईए र बीए उत्तीर्ण गरिन् । भारतको बनारसस्थित हिन्दू विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरिन् । त्यसपछि उनले नेपाल आएर त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरिन् ।
उनले २०३४ सालको अन्त्यतिर कानून व्यवसायीको लाइसेन्स लिइन् । २०३५ सालदेखि वकालत पेशामा आबद्ध भइन् । निडर र हक्की स्वभावकी सुशीला प्रारम्भिक चरणको झण्डै ६ महिनामै वकिलका रूपमा स्थापित भइन् र त्यसपछि उनले आफ्नै ल फर्ममार्फत मुद्दा लड्न थालिन् । सुशीला २०५८–५९ मा वरिष्ठ अधिवक्ता बनिन् । २०६२–२०६३ को जनआन्दोलनपछि सुशीला २०६५ सालमा सर्वोच्च अदालतकी न्यायाधीशमा नियुक्त भइन् । त्यसपछि उनी २०७३ मा मुलुककै पहिलो महिला प्रधानन्यायाधीश बनिन् । नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बनेर न्यायपालिकाको नेतृत्व गरिसकेकी कार्कीले पहिलो महिला प्रधानमन्त्रीका रुपमा देशको बागडोर सम्हालेकी हुन् ।