• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

भागेका कैदीबन्दी कारागार फर्कन थाले

बागलुङ, २७ भदौ

जेन्जी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दी आफै कारागार फर्कन थालेका छन् । कारागार कार्यालय, कास्कीबाट भागेका सात सय ७३ कैदीबन्दीमध्ये शुक्रबार साँझसम्ममा ८५ जना कारागार फर्किएका छन् । कारागार कार्यालयका सूचना अधिकारी महेन्द्रबहादुर कुँवरका अनुसार कैदीबन्दी फर्कने क्रम जारी छ । “कारागार विभाग र जिल्ला प्रहरी कार्यालयले भागेका कैदीबन्दीलाई काराबार फर्कन आव्हान गरेको छ”, उनले भने, “हामीले पनि आफन्तमार्फत कैदीबन्दीलाई सम्पर्क गरेर तत्काल कारागार फर्कन भनेका छौँ ।”

जेन्जी प्रदर्शनकारीको आन्दोलन उग्र बन्दै गएपछि गत मङ्गलबार राति कारागारबाट कैदीबन्दी फरार भएका थिए । प्रदर्शनकारीले कारागार तोडेर ३५ महिलासहित सात सय ७३ कैदीबन्दीलाई भगाएका थिए । कास्की कारागारबाट भागेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय, बागलुङले पवर्त र बागलुङको सीमा क्षेत्र मालढुङ्गाबाट बिहीबार नियन्त्रणमा लिएको थियो । भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिन प्रहरी सक्रिय बनेको छ । कास्की, म्याग्दीलगायतका कारागारबाट कैदीबन्दी भागेका थिए ।