भ्रष्टचार, असमानता र सामाजिक सञ्जाल बन्दको विरोधमा ‘जेनजी’ पुस्ताले पोखराको सोमबार सभागृहचोकमा प्रदर्शन गरेका छन् । उनीहरुले ‘भ्रष्टचार बन्द गर !’, ‘भ्रष्टहरु होसियार !’, ‘सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता ले !’ लगायतका नारा लगाएका छन् ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति आक्रोशित देखिएका उनीहरुले ‘अब चाहिँदैन तेरो मनोमानी !’, ‘जनताको कर, जनतामै खर्च गर!’ लेखिएका प्लेकार्ड बोकेका छन् । राष्ट्रिय झण्डासहित देखिएका उनीहरु अधिकांश विद्यालय र क्याम्पसको पोशाकमा उपस्थित छन् । सन् १९९७ देखि २०१२ भित्रमा जन्मिएका सो पुस्ताले मुलुकमा व्याप्त भ्रष्टचार र विकृतिविरुद्ध देशव्यापी सडक आन्दोलनमा निस्किएको हो ।
जेनजीको विरोध प्रदर्शनलाई लक्षित गरेर सभागृहचोक र आसपासमा प्रहरीको बाक्लो उपस्थिति देखिन्छ । सयौँको संख्यामा उपस्थित जेनजीले विरोध शान्तिपूर्ण रहने जनाएका छन् ।



