• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

दलाल पुँजीवाद प्रधानमन्त्री फेर्ने ठाउँमा आइपुगेको छ – नेता पुन

बागलुङ, २२ भदौ
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले मुलुकमा दलाल तथा नोकरशाही पुँजीवाद हाबी भएको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ द्वारा आइतबार आयोजित ‘नेपाली विशेषताको समाजवाद र वैकल्पिक अर्थतन्त्र’ विषयक विचार गोष्ठीमा उनले हुँदाहुँदा दलाल पुँजीपति वर्ग प्रधानमन्त्रीसम्म फेर्ने ठाउँमा आइपुगेको बताए ।
“राजनीतिक र प्रशासनिक नेतृत्वलाई प्रभावमा राखेर दलाल पुँजीवादले आफू अनुकूलको नीति, कानुन बनाउने, नेता, मन्त्री र प्रधानमन्त्रीसम्म फेर्न ठाउँमा आइपुगेको छ”, नेता पुनले भने, “दलाब पुँजीवादको पनि विकृत रुप आसपासे र बिचौलिया पुँजीवाद अहिले हाबी भइरहेको छ ।” बिचौलियाहरु ठूला कर्मचारी, नेता, मन्त्री र प्रधानमन्त्रीको नजिक भएर कामै नगरी कमाउने धन्दामा लागेको उनको भनाइ छ ।
समाजवादी व्यवस्थाका लागि दलाल तथा नोकरशाही पुँजीवाद बाधकका रुपमा देखा परेको नेता पुनले बताए । पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले मुलुकको अर्थतन्त्र सीमित घरानाका हातमा रहेको भन्दै स्वाधिन अर्थतन्त्रका लागि राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने धारणा राखे । “बहुदलअघि आठ÷दस घरानाको हातमा देशको अर्थतन्त्र छ भनिन्थ्यो, बहुदलपछि ४०÷५० घरनामा पुग्यो, २०६२÷०६३ पछि आएर पाँच÷छ सय घरनाको हातमा मुलुकको अर्थतन्त्र छ”, उनले भने, “बैंकबाट लिइने झण्डै ९० प्रतिशत ऋण तिनै घरनाले लिन्छन्, यसले एकाधिकार पुँजीको निर्माण भइरहेको छ, भन्दा उदार र खुला अर्थतन्त्र भनेपनि व्यवहारमा त्यस्तो छैन ।”
नेपाल सामन्तवादबाट पुँजीवादमा आएको उल्लेख गर्दै उनले समाजवाद निर्माणका लागि राष्ट्रिय पुँजीको विकासमा जोड दिए । पश्चिमा देशहरु प्नि नवउदारवादबाट संरक्षणवादतर्फ फर्किरहेको भन्दै उनले नेपालले पनि आफ्नै मौलिक विशेषतासहितको अर्थतन्त्र र त्यसमा आधारित समाजवादको विकास गर्नुपर्ने बताए । स्वार्थ समूहको जालोबाट राज्यका हरेक निकाय र क्षेत्रलाई मुक्त र्दै राजनीतिक प्रतिस्पर्धामा आधारित समाजवादी लोकतन्त्रको स्थापना गर्नुपर्नेमा नेता पुनको जोड ।
कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमलाल भण्डारीले राजनीतिक दल र सरकारले उद्योगी, व्यवसायीहरुको हितमा नीति ल्याउनुपर्ने बताए । कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन, बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले ‘नेपाली विशेषताको समाजवाद र वैकल्पिक अर्थतन्त्र’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।