बागलुङ, १९ भदौ
बागलुङ नगरपालिकाले जिल्लाको सबैभन्दा पुरानो विद्यामन्दिर माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बानपा–२ का श्रीजय श्रेष्ठलाई चयन गरेको छ ।
नगरपालिकाले नगर कार्यपालिका र नगर शिक्षा समितिको निर्णय अनुसार अध्यक्षमा चुनिएको व्यहोराको पत्र श्रेष्ठ र विद्यालयलाई पठाएको छ । ‘बागलुङ नगरपालिका विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धी कार्यविधि ‘२०८२’ को आधारमा व्यवस्थापन समिति गठन गरिएको नगरपालिकाले जनाएको छ ।समितिको सदस्यमा बानपा (३ का वडाध्यक्ष सनी केसी, एकनाथ पौडेल, मनिषा केसी, धनकाजी विक, नन्दकली श्रेष्ठ, रीता शर्मा, थानेन्द्र गौतम र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मी रहेका छन् ।
प्रअ रेग्मीले बुधबार समिति गठनको निर्णयसहितको पत्र विद्यालयलाई प्राप्त भएको बताए । “विद्यालय व्यवस्थापन समिति गठन अभिभावक भेलाबाट हुनुपर्ने हो, तर दुईपटकसम्म अभिभावक भेलाले गणपूरक संख्या नपुगेर समिति गठन गर्न नसकेपछि नगरपालिकाले आफ्नै कार्यविधि अनुसार समिति गठन गरेको छ”, उनले भने, “नयाँ व्यवस्थापन समितिको पदभार कहिले गराउने भनेर छलफल गर्दैछौँ ।”
गत पुस र साउन महिनामा भएको अभिभावक भेलाले गणपूरक संख्या नपुगेका कारण अध्यक्ष चुन्न नसकेपछि नगरपालिकाले नै अध्यक्ष तोकेर पठाएको हो । समितिमा अभिभावक, शिक्षासेवी, सहयोगदातालगायत समेटिएको प्रअ रेग्मीले बताए । नगर शिक्षा ऐनअन्तर्गत बनेको उक्त कार्यविधिमा दुईपटकसम्म अभिभावक भेलाबाट व्यवस्थापन समिति गठन हुन नसके नगर कार्यपालिका र नगर शिक्षा समितिको निर्णयबाट समिति गठन गर्न सक्ने प्रावधान छ ।
प्रअ रेग्मीले धेरै जिल्लाका अभिभावकका बच्चा अध्ययनरत रहेकाले अभिभावक भेलामा ५१ प्रतिशत गणपूरक संख्या पुग्न नसकेको जनाए । अघिल्लो व्यवस्थापन समितिको कार्यकाल गत मंसिरमा सकिएपछि हालसम्म नयाँ समिति गठन हुन सकेको थिएन । बानपा(३ स्थित उक्त विद्यालय विसं १९९७ सालमा स्थापना भएको थियो ।
