बागलुङ, १८ भदौ
बागलुङ जेसीजको आयोजनामा बुधबारदेखि जेसीज सप्ताह सुरू भएको छ । सप्ताहको प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरूङले औपचारिक समारोहबीच शुभारम्भ गरेका थिए । विधिको शासनमा जोड दिएका उनले देशबाट भइरहेको युवा पलायनप्रति भने चिन्ता व्यक्त गरे ।
उनले नयाँ पुस्तालाई असल व्यवहार र संस्कारसहितको नेतृत्व स्थापित गर्नुपर्नेमा जोड दिए । जेसीजले समाजमा योगदान दिएका युवाहरुलाई प्रत्येक वर्ष गर्दै आएको युवा सम्मानम यस वर्ष पनि २ जनालाई प्रदान गरिएको छ ।
कम उमेरमा निजामती सेवामा प्रवेश गरी नेतृत्वदायी भूमिकाका रहेका यातायात व्यवस्था कार्यालय, बागलुङका प्रमुख गुमादेवी शर्मा र बागलुङ नगरपालिका(२ आवारोडमा बागलुङ कालिका ड्राई क्लिनर्सका संचालक शर्मिला पौडेललाई युवा सम्मान प्रदान गरिएको हो ।
सम्मानित व्यक्तिको बारेमा जेसीजका कानुनी सल्लाहकार ताराप्रसाद शर्मा र सदस्य रोहन जिसीले जानकारी गराएका थिए । सप्ताह यही भदौ २४ गतेसम्म संचालन हुने जनाइएको । सप्ताहको दोस्रो दिन भदौ १९ गते लोकतान्त्रिक चोकमा ‘सत्यदेवी स्मृति स्लो बाइक रेस’ प्रतियोगिता २० गते महिलाहरुका लागि भाषणकला तालिम, २१ गते बागलुङ जेसीज र पत्रकार महासंघको कार्यसमितिबीच मैत्रीपूर्ण फुटसल खेलको आयोजना गरिएको सप्ताहका मुल संयोजक प्रेमप्रसाद ढकालले जानकारी दिए ।
२२ गते मेयरसँग विद्यार्थी कार्यक्रम, २३ गते धवलागिरि अस्पतालमा स्वस्थ बच्चा प्रतिस्पर्धा सप्ताहको अन्तिम दिन २४ गते स्व। प्रगतिकुमार श्रेष्ठ स्मृति वक्तृत्वकला प्रतियोगिता, पुरस्कार वितरण तथा समापन समारोह हुने जेसीजका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले बताए । जेसीजले बर्सेनि विविध रचानात्मक कृयाकलापसहित जेसीज सप्ताह आयोजना गर्दै आएको छ ।