• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

पर्यटक शुल्कबाट ‘एक्याप’लाई साढे ४६ करोड आम्दानी

पोखरा, १७ भाद्र

अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आवमा भित्रिएका विदेशी पर्यटकको प्रवेश शुल्क बापत रु. ४६ करोड ४८ लाख ८१ हजार चार सय ८३ सङ्कलन भएको छ । पर्यटक आगमनमा वृद्धि भएसँगै पर्यटक प्रवेश शुल्कबाट हुने आम्दानी पनि बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । आव २०८०/०८१ को तुलनामा गत आवमा पर्यटक आगमनमा २५ प्रतिशतले वृद्धि भएको थियो ।

‘एक्याप’को आँकडा अनुसार अघिल्लो आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा गत आवमा पर्यटक संख्या बढेर दुई लाख ७८ हजार एक सय १३ पुगेको थियो । तीमध्ये दक्षिण एसियाली मुलुकका एक लाख ५७ हजार सात सय ८६ र अन्य देशका एक लाख २० हजार तीन सय २७ पर्यटक थिए ।

आव २०८०/०८१ मा पर्यटक प्रवेश शुल्क बापत रु. ३८ करोड ९४ लाख ६१ हजार चार सय ८३ सङ्कलन भएको थियो । आयोजना प्रमुख डा रविन कडरियाले दक्षिण एसियाली मुलुकका पर्यटकका लागि रु. एक हजार र अन्य विदेशी पर्यटकका लागि रु. तीन हजार (भ्याटसहित) प्रवेश शुल्क तोकिएको बताए ।

पर्यटक शुल्कलगायतबाट हुने आम्दानीको ठूलो हिस्सा संरक्षण गतिविधि र पर्यटन प्रवद्र्धनका कार्यक्रममा खर्च हुने गरेको उहाँको भनाइ छ । “एक्यापका लागि सरकारले छुट्टै बजेट दिँदैन, यहीँको आम्दानीबाट कार्यालय, कर्मचारी व्यवस्थापदेखि वार्षिक कार्यक्रम सञ्चालन हुने गर्छन्”, आयोजना प्रमुख डा कडरियाले भने, “स्थानीय स्तरमा रहेका संरक्षण क्षेत्र व्यवस्थापन समितिमार्फत बजेट र कार्यक्रम कार्यान्वयन हुन्छ ।” चालु आवका लागि रु. ३८ करोडको बजेट स्वीकृत भएको उनले बताए ।

‘एक्याप’ले पदमार्ग निर्माण, फोहर व्यवस्थापन, साना सिँचाइ, खानेपानी आयोजना निर्माण, आयआर्जन, संरक्षण शिक्षालगायतका गतिविधि सञ्चालन गर्दै आएको छ । पर्यटक प्रवेश शुल्कबाट हुने आम्दानी ‘एक्याप’मै रहने र जटिबुटी सङ्कलनलगायत प्राकृतिक स्रोतको उपयोग बापत उठ्ने रकम नेपाल सरकारको राजश्वमा जम्मा हुने गरेको आयोजना प्रमुख डा कडरियाले बताए । ‘एक्याप’भित्र सञ्चालित जलविद्युत् आयोजनाको शुल्क, पर्वतारोहण शुल्क, निषेधित क्षेत्र प्रवेश शुल्क आदिबाट पनि राज्यलाई महत्वपूर्ण लाभ पुगिरहेको उनको भनाइ छ ।

विदेशी नागरिकका लागि निषेधित उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा प्रवेश गर्ने पर्यटकबाट गत आवमा रु. ३० करोड १७ लाख ५२ हजार प्रवेश शुल्क सङ्कलन भएको जनाइएको छ । निषेधित क्षेत्र प्रवेशको शुल्क अध्यागमन कार्यालयमार्फत सङ्कलन हुने गरेको छ । उपल्लो मुस्ताङ घुम्ने पर्यटकले पाँच सय डलर र नार फू जाने पर्यटकले एक हजार डलर तिर्ने गरेका छन् ।

पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा दुई मुख्य पर्यटकीय याम असोज–कात्तिक र चैत–वैशाखमा पदयात्राका लागि बढी पर्यटक आउने गरेका छन् । सोही याममा धार्मिक भ्रमणमा आउने पर्यटकको संख्या पनि उल्लेख्य रहने गरेको आयोजना प्रमुख डा कडरियाले बताए । पर्यटक आगमन दरमा बर्सेनि वृद्धि भइहेको उहाँको भनाइ छ । आव २०७९/०८० मा जम्मा एक लाख ७२ हजार एक सय आठ विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएकामा पछिल्लो आवमा आइपुग्दा एक लाख बढी पर्यटक थपिएका हुन् ।

वर्षात् र जाडो याममा यस क्षेत्रमा आउने पदयात्री पर्यटकको संख्या न्यून हुने गरेपनि अन्य सययमा भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेको छ । मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरेपनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् । कार्यालयले अन्नपूर्ण संरक्षण क्षेत्रमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ ।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्छन् ।