डिजिटल मिडियाको युगमा हामीले सानो पाइला चालेका छौँ । यो यात्रा सहज भने पक्कै हुनेछैन । चुनौती स्वीकार गरेर नै पत्रकारिताको नयाँ बाटो तय गर्ने निधोमा पुगेका हौँ । खोजीनिती डटकम आदरणीय पाठकमाझ ल्याउन पाउँदा गौरवको अनुभूति भएको छ ।
अनलाइन समाचार पोर्टलको भीडमा हाम्रो उपस्थिति झिनो हुनसक्छ । तर, जिम्मेवार र विश्वसनीय पत्रकारिताप्रति हामी सँधै दृढ सङ्कल्पित रहनेछौँ । पत्रकारिताका मूल्य, मान्यता र आदर्शबाट हामी विमुख हुनेछैनौँ । परिधि क्रियसन प्रालि र खोजीनिती डटकम प्रचलित मिडिया कानुन र मुलुकको संविधानप्रति सँधै जिम्मेवार र प्रतिबद्ध रहनेछ । हामी हतार गर्ने छैनौँ, ताकि गलत र अपुरो सूचना पाठकवर्गमा पूगोस् । सही सूचना सही समयमा दिनुपर्ने मान्यता हामी राख्छौँ ।
सत्य, तथ्यको गहिराइमा पुगेर विश्वसनीय सामग्री सम्प्रेषण गर्नतर्फ हाम्रो जोड रहनेछ । डिजिटल माध्यमबाट भ्रामक र मिथ्या सूचना छिनभरमै फैलने जोखिम पनि उत्तिकै हुन्छ । त्यस किसिमका प्रवृत्तिलाई निरुत्साहित गर्न उन्नत र व्यावसायिक पत्रकारितामार्फत मात्र सम्भव छ । नागरिकलाई सत्य, तथ्य र सन्तुलनका आधारमा सुसूचित गराउने कर्तव्यबाट च्यूत हुने छुट कुनैपनि पत्रकार या सञ्चारमाध्यमलाई छैन ।
लोकतन्त्र, सामाजिक न्याय, मानवअधिकार, विधिको शासन र नागरिक स्वतन्त्रताको पक्षमा हामी सँधै उभिनेछौँ । जस्तोसुकै अन्याय, अत्याचार र विभेदका विरुद्ध खबरदारी गर्नेछौँ । गलत प्रवृत्तिसँग सम्झौता गर्नेछैनौँ । असल र जनहितकारी काममा हाम्रो सकारात्मक साथ र समर्थन रहनेछ ।
हाम्रा सामग्री तत्कालिक घटनाभन्दा पनि सामाजिक विषयवस्तुमा बढी केन्द्रित हुनेछन् । सामान्य लागेका विषयलाई नयाँ तरिकाले प्रस्तुत गर्ने हाम्रो प्रयत्न रहनेछ ।खोजीनितीमा प्रकाशन हुने सामग्रीले प्रभावशाली स्थान पाउन नसक्लान् तर सत्य र तथ्य सम्प्रेषण गर्ने पत्रकारिताको धर्मबाट हामी कहिल्यै विचलित हुने छैनौँ ।
समाचार सङ्कलन, सम्पादन र सम्प्रेषणका क्रममा कुनै गल्ती भएमा त्यसलाई सच्याउन हामी सँधै तत्पर छौँ । चुनौतीपूर्ण तर नयाँ आशा र सम्भावनाको गोरेटोमा बामे सर्दै गरेको खोजीनिती डटकमलाई आदरणीय पाठकवर्ग, विज्ञापनदातालगायतको साथ, सहयोग र समर्थन रहनेमा हामी पूर्ण विश्वस्त छौँ ।
उषा पौडेल
सञ्चालक/सम्पादक
