बागलुङ, १५ भदौ
देशकै अग्रणी विद्यामन्दिर पुस्तकालय, बागलुङले चार दिवसीय कार्यक्रमसहित १८औँ राष्ट्रिय पुस्तकालय दिवस मनाएको छ ।पहिलो दिन पुस्तकालय प्रचार प्रसार, दोस्रो दिन बालकक्षाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, तेस्रो दिन सरसफा तथा चौथो दिन ‘हाम्रो पुस्तकालय हाम्रो भविष्य’ विषयक वक्तृत्वकला प्रतियोगिता र मूल समारोह गरी पुस्तकालय दिवस मनाइएको पुस्तकालयका कार्यबाहक अध्यक्ष राजनप्रसाद शर्माले जानकारी दिनुभयो ।
पुस्तकालयका पूर्वअध्यक्ष तथा गंगाप्रसाद स्मृति कोषका संरक्षक रामप्रसाद शर्माले कोषको उद्देश्यको बारेमा प्रकाश पार्नु भएको थियो । पुस्तकालयमा स्थापना गरिएको गंगा प्रसाद स्मृति कोष मार्फत वतृत्वकला आयोजना गरिएको थियो । वतृत्वकला प्रतियोगितामा अमर आदर्श माध्यामिक विद्यालयका प्रान्जल पौडेल प्रथम, चिल्ड्रेन लाईफ बोर्डिङ स्कूलका प्रशंसा शाही दोस्रो, गणेश माध्यामिक विद्यालयका सूचना ढकाल र फ्युचर ब्राइटर बोर्डिङ स्कुलका निशा शर्मा तेस्रो भएका थिए । मूल समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले पुस्तकालयप्रति अभिरुचि जगाउन विद्यामन्दिर पुस्तकालयले नयाँ–नयाँ सोच ल्याएको बताउनुभयो ।
कार्यक्रममा धवलागिरि बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा।डा। दिनबहादुर थापा, विद्यामन्दिर पुस्तकालयका कार्यवाहक प्रमुख संरक्षक लालचन्द्र राजभण्डारी, संरक्षक प्रेम छोटा, पूर्वअध्यक्ष इश्वरप्रसाद मलेपती, शिक्षक पूर्णराज रेग्मी र पुरस्कृत विद्यार्थी प्रशंसा शाहीलगायतले मन्तव्य राखेका थिए ।
राणाकालको प्रतिकुल समयमा खुलेका कारण पनि विद्यामन्दिर पुस्तकालयको अलग्गै पहिचान र गरिमा छ । धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमासमेत यस पुस्तकालयलाई लिने गरिन्छ ।
स्थापनाकालमा काठमाडौं उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १७ हजार पुस्तक छन् । पुस्तकालयमा विद्युतीय पुस्तकालय ९ई–लाइब्रेरी० पनि सञ्चालित छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक पौवामा चलेको पुस्ताकालयले अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिँदै आएको छ । यस पुस्तकालयका संस्थापक दिवङ्गत ओमप्रसाद गौचन र मेघकुमार वैद्य हुनुहुन्छ ।