• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

मनसुनमा घुमघाम

बागलुङ, १५ भदौ

सामान्यतया मनसुन याम घुमफिरका लागि बेमौसम मानिन्छ । यो याममा पर्यटन प्रवद्र्धनका काम पनि शून्य प्राय: हुन्छन् । वर्षात्का बेला मानिसहरु भरसक लामो यात्रामा निस्कन चाहदैँनन् । धेरैले घुम्नका लागि दसैँ–तिहारको बिदा कुरिरहेका हुन्छन् । कतिपयले हिउँदमा घुम्न जाने योजना बनाउँछन् । तर, पछिल्लो समय मनसुन याममा पनि घुमफिरमा निस्कने क्रम बढ्दो छ । जसबाट बेमौसममा पनि पर्यटन क्षेत्र चलायमान बनाउन मद्दत पुगेको छ । पर्यटक पथप्रदर्शक दिवस गुरुङका अनुसार बागलुङको ढोरपाटन, बागलुङ र पूर्वीरुकुमको सीमामा पर्ने चौरीखर्क, कास्कीको कोरीलगायत गन्तव्यस्थल मनसुन पदयात्राका लागि चिनिन थालेका छन् । यसपालिको मनसुनमा ढोरपाटनको बुकी क्षेत्रमा उल्लेख्य संख्यामा पर्यटक पुगेको उनले बताए ।

“नेपालमा विशेष गरी शरद र बसन्त ऋतुमा बढी पर्यटकीय गतिविधि हुने गर्छन्, मानिसहरु पनि यही बेला बढी घुम्न निसक्छन्”, गुरुङले भने, “तर पछिल्लो समय मनसुनको समयमा पनि नजिकका गन्तव्यमा घुमघाम गर्ने, पदयात्रामा जाने क्रम बढीरहेको छ, यसले नेपाल पर्यटनका लागि हरेक मौसममा उपयुक्त छ भन्ने देखाउँछ ।” गत साउनमा ढोरपाटन जाँदा आफूले जाजरकोट, अर्घाखाँची, गुल्मीदेखि आएका पर्यटकलाई भेटेको उनले सुनाए । बागलुङकी शकुन्तला थापा पनि वर्षात्को कुनै पर्वाह नगरी केही साताअघि ढोरपाटनको बुकी क्षेत्र पुगेकी थिइन् ।

मनसुन पदयात्राका लागि पछिल्लो समय चर्चामा रहेको उक्त क्षेत्र पुग्नेमा उनी एक्लै भने थिइनन् । साथमा अरु चार जना साथी पनि थिए । मोटर यात्रामा ढोरपाटन उपत्यकासम्म पुगेका उनीहरु चार हजार मिटरमाथिसम्म फैलिएको बुकीपाटसम्म पाँच घण्टाको पदयात्रा गरे । चार हजार मिटर उचाइमा अवस्थित गर्पाछेडासम्म पुगेर फर्किएको थापाले बताइन् । पहिलो दिन बुकीमा रहेको गोठमा रात बिताएर भोलिपल्ट घुमफिर गरी साँझ ढोरपाटन उपत्यका झरेको उनको भनाइ छ । “बुकीमा खाना र बासको सुविधा नभएकाले तलबाटै सबै बन्दोबस्त गरेर जानुपर्छ, झोलामा लगेका खानेकुरा खाएर हामीले गोठमै रात बितायौँ”, थापाले भनिन् “त्यहाँ पुग्दा भैँसी र भेँडा गोठालाको दिनचर्या हेर्न पाइन्छ, भेँडीगोठमा रमाउन पाइन्छ ।”

विशाल क्षेत्रमा फैलिएका हरिया पाटन र खर्कले यो याममा बुकीको आकर्षण बढाएको उनले बताइन् । वर्षात्का बेला ढोरपाटन उपत्यका पनि रङ्गीचङ्गी भुइँफूलले सजिने गरेको छ । वनफूलले ढाकिएको उपत्यकामा घोडा सयर गर्न पाउनु त्यहाँको अर्को आकर्षण हो । काठमाडौँ बस्ने दीपा पौडेलले यसपालि मनसुन पदयात्राका लागि कास्कीको कोरी रोजिन् । पेसाले स्टाफ नर्स उनी गएको मध्य असारमा साथीहरुसित ३८ सय मिटर उचाइको कोरी पुगेकी थिइन् । पदयात्रामा उनीसहित सात जना थिए । पोखराबाट मादी गाउँपालिका–१ सिक्लेससम्म तीन घण्टाको मोटर यात्रापछि उनीहरु छ घण्टा हिँडेर तस पुगे । त्यस दिन तसमै रात काटे । भोलिपल्ट त्यहाँबाट पैदल सात घण्टामा कोरी पुगे । कोरीको सौन्दर्यबारे देखेसुनेर लालयीत बनेका उनीहरुले कोरी घुमघामका लागि मनसुन याम नै किन रोजे त ? पौडेल भन्छिन्, “त्यहाँबाट देखिने हरिया डाँडाकाँडा, वनफूलले ढाकिएका मैदान र छिनछिनमा फेरिइरहने मौसमले लोभ्याउँदोरहेछ ।”

पहिलो दिन कोरी पुग्दा मौसम धुम्मिएपछि त्यो रात कोरीमै बिताएको उनले सुनाइन् । हिउँदमा जस्तो छ्याङ्ग हिमाल नखुलेपनि रिमझिम वर्षा र बादलभित्र लुकामारी खेलिरहेको अन्नपूर्ण र लमजुङ हिमालको दृश्यले रोमाञ्चित बनाएको पौडेलले बताइन् । “अर्कोदिन मौसम राम्ररी खुल्यो, हिमाल र डाँडापाखाको दृश्यालोकन गर्न पायौँ”, उनले भनिन्, “मनसुनको याममा मुख्य गरी कोरीको आकर्षण बनेको भुइँभरी देखिने रङ्गीचङ्गी फूल र हराभरा देखिने प्रकृति नै हो ।” पौडेलले सामाजिक सञ्जाल टिकटकमा कोरीको भिडियो देखेपछि साथीहरु मिलेर घुम्ने योजना बनाएको बताइन् ।

कोरी पदयात्रा तीन दिनमै पूरा गर्न सकिने र धेरै खर्चिलो पनि नभएको उनले बताइन् । स्तरीय पदमार्गसहित पर्यटकीय सुविधा पनि उपलब्ध भएकाले कोरीको यात्रा सहज भएको पौडेलले सुनाइन् । सिक्लेस–कपुचे–कोरी पदमार्ग सञ्चालनमा आएपछि त्यस क्षेत्रमा पर्यटकको आउजाउ बढेको हो । पदयात्री सिक्लेसबाट अन्नपूर्ण हिमालको काखमा रहेको कपुचे हिमताल हुँदै ३८ सय मिटरको कोरी लेक पुग्छन् ।

सिक्लेसबाट तस हुँदै कोरी र कपुचे हिमताल हुँदै कोरी जाने दुईटा पदमार्ग छन् । तीन दिनमा कोरी ट्रेक घुम्न सकिन्छ । पर्यटकीय गतिविधि बढेपछि कोरीमा होटल खुलेका छन् । पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने सञ्चार सामग्री, युट्युब माध्यमलगायतले त्यस क्षेत्रलाई उजागर गरिदिएपछि पर्यटकको थप आकर्षण बढेको हो ।

पर्यटक पथप्रदर्शक गुरुङले फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालले पनि कोरी, ढोरपाटनलगायतका गन्तव्यस्थलको प्रचारप्रसारमा व्यापक्ता ल्याएको बताउँछन् । असारदेखि भदौसम्मको समय मनसुन बढी सक्रिय हुने र यो बेला बाढीपहिरा जस्ता प्राकृतिक विपद्का घटना निम्तने भएकाले विशेष सावधानी अपनाएर मात्र यात्रा गर्नुपर्ने उनको सुझाव छ । “गन्तव्यस्थल सम्मको यातायात र अन्य सुविधा, मौसमको पूर्वानुमानलगायतका विषयमा जानकारी बटुल्नुपर्छ, यात्राको बन्दोबस्त पनि सोही अनुसार मिलाउनुपर्छ”, गुरुङले भने, “भौगोलिक रुपमा अति कठिन र विपद् जोखिम भएका ठाउँको यात्रामा सकभर नजानु नै उत्तम हुन्छ ।” उनले मनसुन याममा घुमफिरका लागि उपयुक्त थुप्रै गन्तव्य नेपालमा भएपनि तिनको उजागर हुन नसकेको बताए ।

ट्रेकिङ ऐजिन्सिज एसोसियसन अफ नेपाल (टान), गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले सम्भावना भएर पनि नेपालमा मनसुन याम केन्द्रित पर्यटकीय गतिविधि हुन नसकेको बताए । “पर्यटनलाई बाह्रैमास चलायनमान बनाउने गरी नीति र प्रवद्र्धनका कार्यक्रम ल्याउनु आवश्यक छ, नीजि क्षेत्रले मात्र चाहेर हुँदैन, यसमा सरकारले नै पहल लिनुपर्छ”, उनले भने, “मनसुनमा पनि घुमफिर गर्न रुचाउने, आनन्द लिने पर्यटक हुन्छन्, तर उनीहरुलाई आकर्षित गर्न सकिएको छैन ।” मनाङ, मुस्ताङलगायत उपल्लो भेगमा मनसुन याममा पनि पदयात्राका गतिविधि सञ्चालन गर्न सकिने उनले बताए ।