• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

डेङ्गी सङ्क्रमण बढ्दै

पोखरा, १६ भदौ

कास्कीलगायत गण्डकी प्रदेशका जिल्लामा डेङ्गी सङ्क्रण बढेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार गण्डकीमा गत पुसयता डेङ्गी सङ्क्रमित हुनेको संख्या नौ सय पुगेको छ । मन्त्रालयको आँकडा अनुसार सबैभन्दा बढी कास्कीमा चार सय ७२, तनहुँमा एक सय ४३, लमजुङमा ९७, गोरखामा ७९, स्याङ्जामा ३६, बागलुङमा ३४, पर्वतमा २०, म्याग्दीमा १२, नवलपुर पाँच, मुस्ताङ र मनाङमा एक/एक जनामा डेङ्गी रोग देखिएको हो ।

प्रदेशभरमा पुष्टि भएका सङ्क्रमितमध्ये आधा बढी बिरामी कास्कीको पोखरा महानगरपालिकाका हुन् । पोखरामा हालसम्म चार सय ६३ जनामा उक्त रोग लागेको पुष्टि भएको हो । प्रदेश राजधानी पोखरा गत वर्ष डेङ्गीको ‘हटस्पट’ बनेको थियो । उक्त वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार छ सय जनाभन्दा बढीमा डेङ्गी सङ्क्रमण भएको थियो । डेङ्गी सङ्क्रमणबाट पोखराका तीन जनाको मृत्यु भएको थियो । साउनदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमण बढ्ने जोखिम उच्च रहने भएकाले आगामी दिनमा सङ्क्रणको दर बढ्दै जाने अनुमान छ । डेङ्गी न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित निकायले सक्रियता बढाएका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए ।

स्थानीय तहहरुले डेङ्गी रोग फैलन नदिन डेङ्गी सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् । डेङ्गी फैलाउने लामखुट्टको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गी सर्ने गरेको छ । उक्त लामखुट्टेको टोकाइबाट बच्न सचेतना जगाउने र अभिमुखीकरण गर्ने काम भइरहेको पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

लामखट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै सुरु भएपनि डेङ्गी रोकथाम चुनौतीपूर्ण बन्दै गएको छ । हरेक व्यक्ति, परिवार र समुदाय सचेत नभएसम्म डेङ्गी रोकथाम र नियन्त्रण गर्न कठिन हुने स्वास्थ्यकर्मी बताउँछन् । डेङ्गी रोग सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको बासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको छ । सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ । लामखुट्टको सोही जीवनचक्र खल्बल्याउन बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने गरिएको हो । लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गी नियन्त्रणको उत्तम उपाय मानिन्छ ।