• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

नागरिकलाई सेवा दिन सहर झरे गलकोटका जनप्रतिनिधि र कर्मचारी

बागलुङ, १५ भदौ

देशका विभिन्न सहरमा अस्थायी बसोबास गर्ने नागरिकलाई बागलुङको गलकोट नगरपालिकाले घुम्ती शिविरमार्फत सेवा प्रदान गरेको छ । काठमाडौँ, पोखरा, चितवनलगायतका ठाउँमा रहेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला आदिलाई सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र नवीकरणलगायत सेवा प्रदान गरिएको हो । गलकोट स्थायी घर भई पोखरामा बसोबास गरिरहेका लाभग्राहीलाई बिहीबार उक्त सेवा प्रदान गरिएको गलकोट–७ का वडाध्यक्ष राज थापाले जानकारी दिनुभयो ।
उहाँको नेतृत्वमा गएका जनप्रतिनिधि र कर्मचारीको टोलीले एक सय ५० भन्दा बढी लाभग्राहीको परिचयपत्र नवीकरण गरेको थियो । सात प्रकारका सामाजिक सुरक्षा भत्ताका लाभग्राहीको परिचयपत्र नवीकरण गरिएको वडाध्यक्ष थापाले बताउनुभयो । गलकोट समाज पोखराको समन्वयमा उक्त घुम्ती शिविर संचालन गरिएको थियो । शिविरमा वडाध्यक्ष थापा, पञ्जीकरण शाखाका प्रमुख लोकेन्द्र गैरे, वडा नं. ३ का वडा सचिव चन्द्र बहादुर श्रीस, वडा नं. ७ की कार्यालय सहायक सरस्वती थापा केसीलगायतको टोलीले सेवा प्रदान गरेको नगरपालिकाले जनाएको छ ।
यसअघि नवलपुरको गैँडाकोटमा यही भदौ ४ गते, चितवनमा ५ गते र काठमाडौँमा ७ गते घुम्ती शिविर संचालन गरिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । “ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएकाहरू, एकल महिलालगायतलाई लक्ष्य गरी घुम्ती शिविर संचालन गरिएको हो”, उहाँले भन्नुभयो, “लाभग्राहीलाई सहज होस् भनेर उहाँहरू बसेकै ठाउँमा पुगेर परिचयपत्र नवीकरण गर्ने व्यवस्था मिलाइएको हो ।”
बसाइँसराइका कारण सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरू सहरी क्षेत्रमा रहेकाले पछिल्लो समय स्थानीय तहहरूले सोही ठाउँमै पुगेर परिचयपत्र नवीकरण गर्न थालेका हुन् । सामाजिक सुरक्षा भत्ता बुझ्ने लाभग्राहीले वर्षको एकपटक परिचयपत्र नवीकरण गर्नुपर्ने व्यवस्था छ । सामाजिक सुरक्षा भत्ता भने आफू बसोबास गरेकै ठाउँको बैंकबाट प्राप्त गर्न सकिने सुविधा छ ।