कास्की, १२ भदौ ।
त्रिशूली तथा नारायणी नदी किनारका विभिन्न स्थानमा भेटिएका १०२ वटा शव पहिचान र परीक्षणका लागि पोखरा ल्याइएको छ।
भोटेकोशी नदीमा बाढीले बगाएर बेपत्ता भएकाहरूको खोजीका क्रममा सुरक्षाकर्मी र स्थानीयले विभिन्न जिल्लाबाट ती शवहरू फेला पारेका हुन्।
धादिङ, गोरखा, तनहुँ र पूर्वी नवलपरासी लगायतका जिल्लामा फेला परेका शवहरूको स्थानीय स्तरमा व्यवस्थापन तथा पोस्टमार्टम गर्ने सुविधा नभएपछि पोखरा ल्याउनुपरेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिनुभयो।
उहाँका अनुसार बिहीबार राति पूर्वी नवलपरासीबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ वटा शव पोखरा ल्याएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ।
यस्तै, तनहुँका अन्य विभिन्न स्थानमा भेटिएका थप ९ वटा शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणपछि मणिपाल शिक्षण अस्पताल पठाइएको छ। हाल पोखराका सरकारी तथा निजी अस्पतालहरूसँग गरी कुल ८८ वटा शव व्यवस्थापन गर्न सक्ने क्षमता रहेको छ।
शवको परीक्षण ९पोस्टमार्टम० सम्पन्न भएपछि मृतकहरूको पहिचानका लागि सार्वजनिक सूचना जारी गर्ने तयारी भइरहेको कास्की स्थानीय प्रशासनले जनाएको छ।