• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday
  • Unicode Converter

संविधान दिवसका अवसरमा बहिरा विद्यार्थीलाई खेलकुद सामग्री प्रदान

बागलुङ, २ भदौ

संविधान दिवसका अवसरमा धवलागिरि बहिरा आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई खेलकुद र शैक्षिक सामग्री प्रदान गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई र बागलुङ नगरपालिकाको शिक्षा शाखाको समन्वयमा आज उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

दुई थान क्यारम बोर्ड, दुई थान भलिबललगायतका खेलकुद तथा शैक्षिक सामग्री प्रदान गरिएको शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख प्रकाश बन्धु अर्यालले जानकारी दिनुभयो । संविधान दिवस मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापा, प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङ, बागलुङ नगरपालिकाको सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतमलगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको थियो ।

दिवसका अवसरमा उच्च अदालत बार इकाई बागलुङले आज बिहान धवलागिरि अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको थियो । उद्योग वाणज्य संघ, बागलुङको समन्वयमा मानवसेवा आश्रममा खाद्यान्न सामग्री वितरण र गैरसरकारी संस्था महासंघको समन्वयमा कारागारका कैदीबन्दीलाई खेलकुद सामग्री प्रदान गर्ने कार्यक्रम पनि आज नै तय गरिएको संविधान दिवस मूल समारोह समितिले जनाएको छ । दिवसको मुख्य कार्यक्रम शुक्रबार आयोजना हुने भएको छ । प्रभातफेरीसहित बाङ्गेचौरमा रहेको सहिद उद्यानमा पुगी उक्त कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । जिल्लामा त्रिदिवसीय कार्यक्रमसहित संविधान दिवस मनाउन लागिएको हो ।