बागलुङ, २ असोज
संविधान दिवसका अवसरमा उच्च अदालत बार इकाई बागलुङले धवलागिरि अस्पतालका बिरामीलाई आज फलफूल वितरण गरेको छ । अस्पतालमा रहेका ४० भन्दा बढी बिरामीलाई फलफूल वितरण गरिएको बारका अध्यक्ष गीता श्रीषले जानकारी दिइन् ।
संविधान दिवस मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापालगायतको उपस्थितिमा फलफूल वितरण गरिएको थियो । सो अवसरमा संयोजक थापाले त्रिदिवसीय कार्यक्रमसहित संविधान दिवस मनाउन लागिएको बताए । अस्पतालका प्रमुख चिकित्सक किरण तिवारीले अस्पतालले प्रदान गर्दै आएको सेवाबारे जानकारी दिएका थिए ।
दिवसका अवसरमा आजै शिक्षा विकास तथा समन्वय इकाई र बागलुङ नगरपालिकाको शिक्षा शाखाको संयोजनमा फरक क्षमता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ । उद्योग वाणज्य संघ, बागलुङको समन्वयमा मानवसेवा आश्रममा खाद्यान्न सामग्री वितरण र गैरसरकारी संस्था महासंघको समन्वयमा कारागारका कैदीबन्दीलाई खेलकुद सामग्री प्रदान गर्ने कार्यक्रम पनि आज नै तय गरिएको संविधान दिवस मूल समारोह समितिले जनाएको छ ।
दिवसको मुख्य कार्यक्रम शुक्रबार आयोजना हुने भएको छ । प्रभातफेरीसहित बाङ्गेचौरमा रहेको सहिद उद्यानमा पुगी उक्त कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।