पोखरा, ३० भदौ
‘जेन्जी’ आन्दोलनका क्रममा लुटपाट गरिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आग्रह गरेको छ ।
गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा उपसभामुखको निवास, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालय, आयोग, निकाय र कार्यालयबाट लुटपाट गरिएका सामग्री फिर्ता गर्न अनुरोध गरिएको हो ।
यही भदौ २४ गते आगजनी तथा तोडफोड गरी लुटिएका सवारीसाधन, टेलिभिजन, कम्प्युटर, ल्यापटप, क्यामेरा, प्रिन्टर, फर्निचरलगायत सामग्री सम्बन्धित निकाय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन भनिएको हो ।
मुख्यमन्त्री कार्यालयले सामान फिर्ता गर्नेको पहिचान गोप्य राखिने जनाएको छ । लुटपाटमा संलग्न भएका व्यक्तिको पहिचान गर्ने काम भइरहेको र त्यस्ता सामग्री फिर्ता नगरेमा सम्बन्धित व्यक्तिलाई प्रचलित कानुन बमोजिम अनुसन्धानको दायरामा ल्याई कारबाही प्रक्रिया अगाडि बढाइने दुवै निकायले जनाएका छन् ।
‘जेन्जी’ आन्दोलन हिंसात्मक बन्दा पोखरामा रहेका अधिकांश सरकारी कार्यालयका भवनमा आगजनी, तोडफोड र लुटपाट गरिएको थियो ।